‘तीन वर्षभित्र भूमिहीनहरूलाई पुर्जा दिने गरी लागिपरेका छौँ’
नवलपरासी पश्चिम् । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आगामी तीन वर्षभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने गरि कामलाई तीव्रता दिइएको बताउनुभएको छ ।

आयोग पश्चिम नवलपरासीले आज परासीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष रिजालले आयोगले आगामी २०८४ असोज मसान्तभित्र नेपालमा रहेका सबै भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिसक्ने गरि कार्ययोजना बनाएर अघि बढेको बताउनुभयो ।
संविधानमा गरिएको व्यवस्था अनुसार नै सबै भूमिहीन र सुकुम्बासीलाई जग्गाको मालिक बनाउने उहाँले बताउनुभयो । अध्यक्ष रिजालले सक्रियताका साथ प्रभावकारी रुपमा आयोगको कामलाई अघि बढाउन आयोगको जिल्ला समितिलाई निर्देशन पनि दिनुभयो ।
कार्यक्रममा आयोगका केन्द्रीय विज्ञ सदस्य डा. जगत बस्नेतले आयोगको कार्यविधि तथा कार्ययोजनाबारे स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा कर्मचारीहरूलाई अभिमुखीकरण गर्नुभएको थियो ।
आयोगका जिल्ला अध्यक्ष लालबहादुर गुरुङले निष्पक्ष र ईमान्दारिताका साथ नतिजा देखिने गरि आयोगले काम अघि बढाउने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्