तपाईँ सुन्दै हुनुहुन्छः

तिलोत्तमा गोल्ड कप:  एपीएफ र चर्च ब्वाइज फाइनलमा

रुपन्देही । मोफसलमा धेरै पुरस्कार राशि रहेको २३ औँ तिलोत्तमा गोल्डकपको उपाधिका लागि फाइनलमा पुगेको विभागीय टिम एपिएफविरुद्ध विदेशी खेलाडीको साथमा चर्च ब्वाइज आज भिड्दै छन् ।

यो उपाधिका लागि दुवै टिम नयाँ हुन् । आज दिउँसो ३ बजे  एन्फा एकेडेमीको मैदानमा यो खेल हुँदैछ । उपाधिका लागि फाइनलमा पुगेका चर्च ब्वाइज युनाइटेड र विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधिका लागि आआफ्नै रणनीति बनाएका छन् । चर्च र एपिएफ दुवै इतिहास रच्ने दाउमा छन् । फाइनल अगाडि एन्फा खेल मैदानमा भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा क्याप्टेनले उपाधि जित्ने गरी मैदानमा उत्रने बताएका छन् । २३ औँ तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेका दुवै टिम पहिलो पटक प्रतियोगितामा सहभागी हुँदै उपाधि नजिक पुगेका हुन् ।

प्रिम्याच कन्फ्रेन्समा एपीएफका प्रशिक्षक टोपबहादुर बिष्टले फाइनलका लागि तयार रहेको बताउँदै ट्रफी जितेर इतिहास बनाउने लक्ष्यसहित मैदानमा उत्रने बताउँछन् । उनी भन्छन्–‘हामी लयमा छौँ । हामीसँग सेट टिम छ आत्मविश्वास भएकाले उपाधि जित्नेमा ढुक्क छौँ ।’ एपीएफ क्याप्टेन हरि कार्कीले लामो समयदेखि एउटै खेलाडी एउटै टिममा रहेर खेलेको हुँदा तालमेलमा सहजता हुनेछ र जितका लागि मैदानमा भिड्ने बताएका छन् । कार्कीले आफूहरूमा उपाधि जित्ने विश्वास रहेको र यस्का लागि शारीरिक र मानसिक रूपमा तयारसमेत रहेको बताए ।

चर्चका प्रशिक्षक आसिक थापामगरले पछिल्लो समय बलियो टिमका रुपमा रहेको आफ्नो टिम रहेको हुँदा त्यो साखलाई जोगाउने आफ्नो लक्ष्य भएको बताए । उनले भने–“फाइनल खेल हो । जित दुवै टिमको लक्ष्य हुन्छ हामी जित्ने गरी नै खेल्छौँ ।” चर्च ब्वाइजका क्याप्टेन फाकुने एबायोमीले भने–“पक्कै पनि प्रतिपक्ष टिम बलियो र सेट टिम छ तर हामी उपाधि जित्न चाहन्छौँ । फाइनल खेल भएका कारण च्यालेन्ज छ ।”

प्रतियोगिताको फाइनलमा पुगेको एपीएफले आफ्नो पहिलो खेल आयोजक रुपन्देही ११ सँग खेलेको थियो, जसमा रुपन्देहीलाई १–० गोलले हराएको थियो । एपिएफको सेमिफाइनलमा सङ्कटा एफसीसंग भेट भएको थियो, जसमा सङ्कटालाई पनि १–० गोल अन्तरले नै पराजित गर्दै उपाधि नजिक पुगेको हो । यसैगरी प्रतियोगितामा पहिलो पटक सहभागी चर्च ब्वाइजले आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ट्राई बेकरमा पराजित गरेको थियो भने सेमिफाइनलमा मच्छिन्द्र एफसीलाई सहजै ४–१ गोल अन्तरले पराजित गरेको थियो ।

यस सिजनमा चर्च ब्वाइज युनाइटेड र विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबका बिचमा यो दोस्रो भेट हो । सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइजले एपीएफलाई सेमिफाइनलमा पराजित गरेको थियो । एपिएफ तिलोत्तमामा त्यसको बदला लिन चाहन्छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमूर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगमा चैत्र ९ गतेबाट सुरु भएको  प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ, गोल्डकप, प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत गरिने रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले बताएका छन् । प्रतियोगितामा आयोजक करेन्ट रुपन्देही–११ सहित सङ्कटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरू एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरी आठ टिमको सहभागिता रहेको थियो ।

यो प्रतियोगिताको बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमूर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी रहेका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button