प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने गरी स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक भोलि शुक्रवारसम्मका लागि स्थगित भएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका लागि सूचना जारी गरी बैठक स्थगित गरिएको हो ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले भोली बिहान ११ बजे बस्ने गरी समय निर्धारण गर्नुभएको संघीय संसद् सचिवालयबाट जारी सूचनामा जनाइएको छ ।
सभाको बुधवारको बैठकमा पनि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई पदबाट हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेपछि बैठक अवरुद्ध भएको थियो ।
सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरी सहमतिको प्रयास जारी राख्नुभएको छ ।
प्रतिपक्षले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने अडान राखेको छ ।
प्रतिक्रिया राख्नुहोस्