तपाईँ सुन्दै हुनुहुन्छः

बन्द भएको तीन महिनापछि भोजपुरमा हवाई उडान

भोजपुर । भोजपुरमा बन्द भएको तीन महिनापछि पुन हवाई उडान सुरु भएको छ । भोजपुर नगरपालिका वडा नम्बर १२ टक्सारमा रहेको जिल्लाको एक मात्र विमानस्थलमा मङ्गलवारबाट पुन उडान सुरु भएको हो ।

पुसबाट बन्द रहेको विमानस्थलमा नेपाल बायु सेवा निगमको जहाजले पुनः उडान सुरु गरेको नेपाल बायु सेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खडकाले जानकारी दिनुभयो । उहाँका अनुसार भोजपुरमा अव नयाँ तालिका अनुसार उडान हुने छ । काठमाडौँबाट भोजपुरका लागि छ जना यात्रु आएको र काठमाडौँका लागि पनि छ जना यात्रु लिएर जहाज उडेको स्टेशन प्रमुख खडकाले बताउनुभयो । 

२०३५ सालबाट हवाई उडान सुरु भएको भोजपुरमा नेपाल बायु सेवा निगमको जहाजले मात्र सेवा दिँदै आई रहेको छ । पाँच सय ४५ मिटर लम्बाई र २० मिटर चौडाई भएको कालोपत्रे विमानस्थलमा निगमको बाहेक अन्य जहाजले उडान गर्देनन । विमानस्थल बन्द हुँदा गम्भीर प्रकृतिका बिरामी, गर्भवती, महिला, बालबालिका, असहाय तथा वृद्धवृद्धालाई सास्ती भएको थियो । तीन महिनापछि उडान सुरु हुँदा बिरामी तथा सर्वसाधारणलाई आवतजावतमा राहत पुग्ने छ ।  

निगमका दुईवटा साना विमानमध्ये एउटा मर्मत भएपछि पुन उडान सुरु भएको हो । अर्को विमान पनि मर्मतबाट आएपछि उडानमा सहजता हुने निगमले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button