तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप : पुलिस, आर्मी र लुम्बिनी प्रदेशले जित निकाले 

रुपन्देही । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित निकालेका छन् । 

सोमबार रुपन्देही जिल्लाको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लबले लगातार पाँचौँ जित हात पारेको छ । पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रन बनाउँदा अलआउट भयो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२, आरिफ शेखले, ४०, सागर ढकालले २२, दिलीप नाथले १९ र अमित श्रेष्ठले १८ रन बनाए । सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३, शेर मल्लले २ तथा हेमन्त धामीले १ विकेट लिए । जवाफमा सुदूरपश्चिम २८।३ ओभरमा ९९ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ३२ रन जोडे । यस्तै, मिलन बोहराले २३ र टेक रावतले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पुलिसका लागि ललितनारायणले ७ ओभरमा १६ रन खर्चिएर ६ विकेट लिए । प्रतियोगितामा ललितको यो लगातार तेस्रो ५ विकेट हल हो । यसअघि ललितले एपीएफविरुद्ध ६ तथा मधेशविरुद्ध ५ विकेट लिएका थिए । सागर ढकालले २ तथा करण केसीले १ विकेट लिए ।

यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई हराउँदै लगातार पाँचौँ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपीएफलाई ३ विकेटले पराजित गर्‍यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । आर्मीको जितमा कुशल मल्लले नटआउट रहँदै सर्वाधिक ३१, विवेक यादवले २६, सोमपाल कामीले अविजित २२ र बसिर अहमदले १३ रन बनाए । एपीएफका कप्तान रोहितकुमार पौडेल, कमलसिंह ऐरी र अमरसिंह राउटेलाले समान २–२ तथा किशोर महतोले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अलआउट भयो । उसका लागि सन्दीप जोराले सर्वाधिक ६५ रन जोडे । किशोर महतो, अमरसिंह राउटेला र भुवन कार्कीले समान ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । आर्मीका लागि आकाश चन्दले ४, सोमपाल कामीले ३, शाहब आलमले २ र बसिर अहमदले १ विकेट लिए ।

यस्तै, सोमवार नै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले मधेश प्रदेशमाथि ८३ रनको जित हात पारेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४६ ओभरमा अलआउट हुँदै १ सय ५८ रनको मध्यम योगफल बनायो । लुम्बिनीका आकाश त्रिपाठीले सर्वाधिक ७३ रन जोडे । कृष्ण कार्कीले ३३ र कप्तान देव खनालले १६ रन बनाए । 

मधेशका लागि कमल गुप्ता र विशाल पटेलले समान ३–३ तथा हरिशंकर साह, प्रदीप पासवान र रञ्जित कुमारले समान १–१ विकेट लिए । मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा अलआउट भयो । मधेशका लागि दीपेश दासले २३ र हरिशंकर साहले १४ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । लुम्बिनीका रमेश कुर्मीले ४, विप्रशन केसीले ३ तथा देव खनाल र अजय चौहानले समान १–१ विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button