पुलिसलाई हराउँदै रौतहट एफसी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

चितवन । विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै रौतहट एफसी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चितवनमा जारी प्रतियोगितामा रौतहटले पुलिसलाई १–० ले पाखा लगाएको हो ।
रौतहटको जितमा अनिता राना मगरले एक मात्र निर्णायक गोल गरिन् । उनले ३१औँ गरेको गोलले पुलिसलाई निराश बनायो ।
खेलमा पुलिसले रौतहटलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन । रौतहटकी गोलकिपर उषा थापाले सानदार प्रदर्शन गरिन् । उनी नै प्लेयर अफ दि म्याच भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
प्रतियोगितामा सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र बागमती युथ क्लब सर्लाही भिड्नेछन् । खेल दिउँसो ४:०० बजे हुनेछ । चितवन जिल्ला फुटबल सङ्घको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा सुरु प्रतियोगितामा ८ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख तथा उपबिजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया राख्नुहोस्