तपाईँ सुन्दै हुनुहुन्छः

तिलोत्तमा नगरपालिका असल अभ्यास गर्ने विश्वभरका स्थानीय तहबीच अवार्डको प्रारम्भिक छनौटमा

रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ । 

अर्जेन्टिनाको इन्टरनेशनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडिपी) संस्थाले गर्ने २४ औँ संस्करणको अवार्डका लागि तिलोत्तमा प्रारम्भिक सूचीमा परेको हो । तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर रहेका प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले सबै पालिकाहरुले यसैगरी लगावका साथ काम गर्ने हो भने सफा र सुन्दर नेपाल सम्भव रहेको बताउनुभयो ।

तिलोत्तमाका मेयर रामकृष्ण खाँणका अनुसार अवार्डका लागि विश्वका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएकामा पहिलो चरणमा तिलोत्तमा उत्कृष्ट ४० मा छनोट भएको हो । ओआइडिपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पाँच वटा विषयमा आवेदन माग गरेकोमा तिलोत्तमा जनसहभागितामा सञ्चालित सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान अन्तर्गत प्रारम्भिक सूचीमा परेको उहाँले जानकारी दिनुभयो ।

छनोट भएका ४० स्थानीय र प्रदेश सरकारबीच अनलाइन भोटिङको ५० अङ्क र निर्णायकको मूल्याङ्कनको ५० अङ्कको आधारमा आगामी मे महिनाको २१ देखि २३ तारिखसम्म अर्जेन्टिनाको कोर्डोबामा हुने ओआइडिपी कन्फेरेन्स (सम्मेलन)मा अवार्ड विजेता घोषणा गरिने ओआइडिपीको वेबसाइटमा उल्लेख छ ।

तिलोत्तमा प्रारम्भिक सूचीमा परेपछि अनलाइन भोटिङमार्फत मत दिएर जिताउन नेपालभर र विश्वभर रहेका नेपालीलाई मेयर खाणले अपील गर्नुभएको छ । ओआइडिपीले मार्च अन्तिमभित्रै एक हप्ताको अवधि निर्धारण गरी अनलाइन भोटिङ खुला गर्नेछ । अनलाइन भोटिङ गर्दा एक जनाले पाँच वटै विषयमा मत दिनुपर्ने अन्यथा मत रद्द हुने नियम रहेको छ । ओआइडिपीको वेबसाइटमै गएर मत दिन सकिनेछ । तिलोत्तमा नगरपालिकाले २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाई तथा हरियाली प्रवर्द्धन अभियान गर्दै आएको छ । आठौँ वर्षमा निरन्तर चल्दै आएको अभियानको १ सय ४० औँ शृङ्खला सम्पन्न भएको मेयर खाणले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button