तपाईँ सुन्दै हुनुहुन्छः

ज्यान मुद्दाका फरार अभियुक्त २४ वर्षपछि पक्राउ

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई २४ वर्षपछि पक्राउ गरेको छ । 

अदालतबाट २० वर्षको कैद सजायको फैसला भएपनि फरार रहेका अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक कुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाको साविक ठुलोदुम्मा गाविस वडा नम्बर आठ (हाल पौवादुङमा गाउँपालिका वडा नम्बर ६) का विजय कुमार राईलाई  २०५७ साल साउन १३ गते सोही स्थानका शान्त कुमार राई समेतले कुटपिट गरी मरणासन्न हुने गरी घाइते बनाएकोमा उपचारको क्रममा साउन १८ गते भोजपुर जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले घटना विवरणमा उल्लेख गरेको छ ।

सो घटना पश्चात् तत्काल प्रतिवादीहरू भागी फरार रहेकोमा कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वोच्च अदालत काठमाण्डौबाट निज प्रतिवादी शान्तकुमार राईलाई २०६९ साल वैशाख २२ गते २० बर्ष कैद सजाय हुने गरी फैसला सुनाएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । ४६ वर्षका राईलाई फैसला कार्यान्वयनका लागि खोजी गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले सोमवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button