कुम्हार तथा कसगर समुदायलाई माटोको भाँडा बनाउने अत्याधुनिक मेसिन वितरण
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले कुम्हार तथा कसगर समुदायलाई माटोको भाँडा बनाउने अत्याधुनिक मेसिन वितरण गरेको छ । पुर्ख्यौली रुपमा माटोको भाँडा बनाउँदै आएको कुम्हार तथा कसगर समुदायलाई नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्काले १८ जनालाई माटोको भाँडा बनाउने अत्याधुनिक मेसिन हस्तान्तरण गर्नुभएको हो ।

परम्परागत पेसाको संरक्षण गर्दै जीविकोपार्जनमा सहजीकरण गर्ने उद्देश्यले अत्याधुनिक मेसिन प्रदान गरिएको नगर प्रमुख विष्टले बताउनुभयो । ‘यही पेशाले जीवन धानिरहनुभएको समुदायलाई पेसामा टिकाइराख्न तथा उहाँहरूलाई समय बचतसँगै मनग्य आम्दानी गर्न सजिलो होस् भन्ने उद्देश्यले मेसिन दिएका छौँ,’ विष्टले भन्नुभयो –‘यसले पक्कै उहाँहरूलाई सहज हुनेछ ।’

यी मेसिनबाट जुनसुकै प्रकारका माटोको भाँडा बनाउन सकिन्छ । करिब ५० हजार लागतमा भारतको राजस्थानस्थित जयपुरबाट मेसिनहरू खरिद गरेर ल्याइएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । भाँडा बनाउने मेसिन पाएपछि कुम्हार र कसगर समुदाय खुसी भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्