तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामको ३२ किलोमिटरमा बन्ने बाह्य चक्रपथको निर्माण शुरु

जनकपुरधाम । जनकपुरधामको शहरी क्षेत्रको चारै तीर निर्माण हुने बाह्य चक्रपथको निर्माण गर्ने कामको आजबाट शुरुआत भएको छ । बाह्य चक्रपथको निर्माणको जनकपुरधाम उपमहानगरपालिका वडा नंं १५ रामपुरमा शिलान्यास गरिएको छ । 

१ अर्ब २५ करोडको लागतमा निर्माण हुने जनकपुरधामको बाह्य चक्रपथको कूल लम्बाइ ३२ किलोमिटर हुनेछ । चालु आर्थिक वर्षमा उक्त सडकको शुरुआती कामका लागि भ्याट सहित ६ करोड ३० लाख १७ हजार ६ सय ७७ रुपैयाँमा ठेक्का सम्झौता भएर निर्माण कम्पनीद्वारा कामको शुरुआत गरेको सडक डिभिजन कार्यालय जनकपुरधामका कार्यालय प्रमुख दुर्गा प्रसादले जानकारी दिनुभयो । 

बाह्य चक्रपथको शिलान्यास गर्दै नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले चालु आर्थिक वर्षमा थोरै बजेट भएपनि अगामी आर्थिक वर्ष देखि वह वर्षे ठेक्का अन्तर्गत राम्रो बजेटको विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले बाह्य चक्रपथको निर्माण भएपछि यस क्षेत्रको आर्थिक सामाजिक विकासमा ठूलो फड्को मार्ने बताउँदै जनकपुरधामको पर्यटन प्रवर्द्धनका लागि शहरी क्षेत्रको सौन्दर्यीकरणका लागि चालु आर्थिक वर्षमा विभिन्न योजनाहरूमा बजेट विनियोजन भएको बताउनुभयो । 

नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं धनुषा निर्वाचन क्षेत्र नंं ३ का प्रतिनिधि सभाका सदस्य जुली कुमारी महतोले जनकपुरधामको बाह्य चक्रपथको डिपिआर तयार पार्ने काम २०७६ सालमा नै भएको बताउँदै यस पटक देखि कामको शुरुआत हुन थालेको बताउनुभयो । 

कूल ३२ किलोमिटर लम्बाई तथा ४२.८ फिट चौडाइको बाह्य चक्रपथको सम्पूर्ण लागत १ अर्ब २५ करोड हुनेछ । स्फाल्ट प्रविधिमा सडकको निर्माण हुने भएको सडक डिभिजन कार्यालयले जनाएको छ । यस वर्ष लोहना–रामपुर जोड्ने २.२ किलोमिटर कालोपत्रे र कपिलेश्वर महुवा जोड्ने १.५ किलोमिटरमा ग्राभेल गर्ने कार्यक्रम रहेको सडक डिभिजन कार्यालय जनकपुरधामले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button