तपाईँ सुन्दै हुनुहुन्छः

‘रुपान्तरणका लागि सार्वजनिक सञ्चार माध्यमले प्रभावकारी भूमिका खेल्नुपर्छ’

जनकपुरधाम । सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सार्वजनिक सञ्चार माध्यमले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । 

सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गत रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय बर्दिबास महोत्तरीको आज स्थलगत अनुगमनपछि कर्मचारीहरूलाई निर्देशन दिँदै कार्यकारी अध्यक्ष डा. विष्टले समाजमा भएका धेरै सकारात्मक विषयहरूलाई उजागर गर्ने दायित्व सञ्चार माध्यमहरूकै भएको बताउनुभयो । 

उहाँले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सार्वजनिक सेवा प्रसारण नेपालको मधेश प्रदेश ब्युरो कार्यालय स्थापनाका लागि आफूहरू तयार भएको उल्लेख गर्दै त्यसका लागि प्रदेश सरकारको सहयोग र साथ आवश्यक भएको बताउनुभयो । 

उहाँले प्रादेशिक प्रसारणको सेवा तथा प्रसारण पहुँच विस्तारका लागि आफूहरू गम्भीर रहेको बताउँदै रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालयले राष्ट्र भाषालाई प्राथमिकतामा राखेर कार्यक्रम तथा समाचार प्रसारण गरेकोमा खुशी व्यक्त गर्नुभयो । 

अध्यक्ष डा. विष्टले कर्मचारीहरूले रेडियो तथा टेलिभिजनमा काम गर्ने गरि आफ्नो सीप अभिवृद्धि गर्दै जान आवश्यक भएको बताउनुभयो । 

कार्यक्रममा रेडियो नेपालका प्रादेशिक प्रसारण कार्यालय बर्दिबासका कार्यालय प्रमुख रामपुकार रामले प्रादेशिक प्रसारण कार्यालयको समग्र अवस्थाको विषयमा जानकारी दिनुभएको थियो । 

अनुगमनमा सार्वजनिक सेवा प्रसारणका प्रवक्ता एवं रेडियो नेपालका निर्देशक पुष्कर राज गौतम तथा कार्यक्रम उपनिर्देशक तारा वस्तिले पनि बोल्नुभएको थियो । 

त्यसअघि कार्यकारी अध्यक्ष डा. विष्टले रेडियो नेपालको प्रादेशिक कार्यालयको स्टुडियो, ट्रान्समिटर सहितको उपकरणको निरीक्षण गर्नुका साथै नयाँ बनेको प्रशासनिक भवनको पनि निरीक्षण गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button