मिरिङदेनका २ सय बढी विद्यार्थी बिरामी
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका दुई विद्यालयका दुई सय बढी विद्यार्थी बिरामी भएका छन् ।
पालिकाको वडा नं ५ थुकिममा रहेको त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीमा ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने, टाउको दुख्ने र पेट दुख्ने लगायतका लक्षण देखिको विद्यालयका प्रधानाध्यापक कमल चेम्जोङले जानकारी दिनुभयो । विद्यार्थी बिरामी भएसँगै विद्यालय एक साताका लागि बन्द गरिएको छ । सोही वडाको जनज्योति आधारभूत विद्यालयका विद्यार्थीमा पनि सोही किसिमको बिराम देखिएकोले उक्त विद्यालय पनि बन्द गरिएको बताइएको छ ।
मेरिङदेन गाउँपालिकामा बिहीबार विद्यालयले खबर गरेपछि शुक्रबार नै पालिकाको स्वास्थ्य टोली गई विद्यालयका विद्यार्थीमा परीक्षण गरिएको पालिकाका निमित्त कार्यालय प्रमुख तथा स्वास्थ्य शाखा प्रमुख उदयकुमार यादवले जानकारी दिनुभयो । निमित्त प्रमुख यादवले त्रिभुवन माविमा परीक्षण गरिएकामध्ये ७७ जनामा सो बिराम देखिएको र जनज्योति माविमा पनि ३० जना विद्यार्थीहरूमा रुघा, खोकी, ज्वरो, पेट दुख्ने तथा लल्याकलुलुक भएर जिउ नै नथामिने देखिएको बताउनुभयो ।
जनस्वास्थ्य प्रमुख कुलबहादुर पौडेलका अनुसार इन्फ्लुएन्जा भाइरस सङ्क्रमणका कारण यस्तो भएको हुन सक्छ ।
प्रतिक्रिया राख्नुहोस्