‘काँग्रेसभित्र सहमति, सहकार्य र एकता आवश्यक’
नेपालगन्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र सहमति, सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका बाँकेको तेस्रो सम्मेलनलाई आज सम्बोधन गर्दै कोइरालाले पार्टीलाई मजबुत बनाउन सहमति, सहकार्य र एकतामा जोड दिनुभयो । उहाँले पार्टी एक ढिक्का र एकताबद्ध भए मात्र आगामी चुनावमा अन्य दलसँग एक्लै प्रतिस्पर्धा गर्न सहज हुने बताउनुभयो । पार्टीभित्रको गुट अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माण गर्न जरुरी रहेको कोइरालाको भनाई छ ।
सुशासन, समृद्धि र संविधान संशोधनको मुख्य एजेण्डासहित बनेको कांग्रेस–एमाले सम्मिलित वर्तमान गठबन्धन सरकारले सही ढंगले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकारलाई आफ्नो लक्ष्यबाट विचलित हुन नदिन निरन्तर खबरदारी आवश्यक रहेको बताउनुभयो । सरकार सञ्चालन गर्न सरकारभित्र संयन्त्र बन्नु अन्यथा नभए पनि सरकार बाहिर पनि तल्लो तहसम्म संयन्त्रको अभ्यास गर्नु ठिक नभएको कोइरालाको जिकिर छ ।
प्रतिक्रिया राख्नुहोस्