अब रारामा पर्यटक प्रहरी रहने

मुगु । रारा क्षेत्रमा घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकहरूको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने निर्णय गरेको छ।
नेपालकै सबैभन्दा ठूलो र गहिरो ताल राराताल घुम्न आउने पर्यटकहरूको सुरक्षाका लागि पर्यटक प्रहरी राख्न पर्यटन विभाग र छायानाथ रारा नगरपालिकाबीच सम्झौता भएको छ।
पर्यटन विभागका निर्देशक लिलाधर अवस्थी र छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाही बीच सम्झौतामा हस्ताक्षर भएपछि रारामा पर्यटक प्रहरी रहने पक्का भएको हो।
सम्झौताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पर्यटक प्रहरीको जनशक्ति, दरबन्दी र प्रहरी पोस्टको व्यवस्थापन गर्नेछ। छायानाथ रारा नगरपालिकाले पर्यटक प्रहरीका लागि आवास, खानेपानी, विद्युत् र अन्य आवश्यक पूर्वाधार उपलब्ध गराउने तथा उनीहरूलाई उपयुक्त कार्य वातावरण निर्माण गरिदिने उल्लेख गरिएको छ।
रारामा ताल मात्र नभई धार्मिक स्थल, हिमाल, गुफा तथा जङ्गलबीचका पर्यटकीय क्षेत्रहरू रहेका छन्। पर्यटक प्रहरीको व्यवस्था भएपछि अब यहाँ घुम्न आउने पर्यटकहरूले सुरक्षित महसुस गर्ने र स्वतन्त्र रूपमा भ्रमण गर्न सक्नेछन्। यसले उनीहरूको बसाइ लम्बिने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने छायानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाही बताउनु भयो ।
पर्यटक प्रहरीलाई राख्ने स्थानको छनोट, आवश्यक पूर्वाधार निर्माण तथा अन्य व्यवस्थापनका लागि आफूहरू जुटिरहेको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भाम ले जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्