कर्णाली नदीमा माछा पाउनै मुस्किल, संकटमा पानीमा बाँच्ने अन्य जीवहरूको अस्तित्व
मुगु । मुगुको कर्णाली नदीमा माछा पाउन कठिन हुँदै गएको छ। स्थानीयहरूको अनुसार नदीमा अन्धाधुन्ध माछा मार्ने प्रवृत्ति, जल प्रदूषण र जलवायु परिवर्तनका कारण माछाको संख्या घट्दै गएको हो।
माछा मार्नका लागि विषादी प्रयोग गर्ने, विद्युतीय प्रविधि अपनाउने, तथा अवैध जालसमेत प्रयोग गर्ने जस्ता कारणहरूले माछाको प्रजनन र हुर्काइमा अवरोध आएको स्थानीयहरूले बताएका छन्।
“पहिले जति माछा पाइन्थ्यो, अहिले त दिनभर जाल हाले पनि केही पाइँदैन,” स्थानीय रामलाल लावडले भन्नुभयाे।

सरकार र सरोकारवाला निकायहरूले नदी संरक्षण, माछा संरक्षण नीति र दिगो माछा पालनका उपायहरू अवलम्बन नगर्ने हाे भने मुगुका नदीहरू माछाविहीन हुने खतरा रहेको उहाँहरुकाे भनाइ छ।
हालसम्म मुगुमा व्यावसायिक माछा पालन छैन, तर गमगाड खोलामा, खतेड खोलामा र मुगु कर्णाली नदीबाटफाट, फुट रूपमा बजारमा माछाको व्यापार हुने गरेको थियो। अहिले नदीमा पासाे हाल्ने र जाल खेल्ने काम गर्दा पनि माछा पाउने दर निकै न्यून रहेको स्थानीय युवाहरूको भनाइ छ।
जलवायु परिवर्तनका कारण माछासहित पानीमा बाँच्ने अन्य जीवहरूको अस्तित्व संकटमा परेको देखिन्छ। यसरी माछा र अन्य जलजन्य जीवहरूको अस्तित्व बचाउनका लागि सम्बन्धित निकायले तत्काल कदम चाल्न अत्यावश्यक छ।
प्रतिक्रिया राख्नुहोस्