तपाईँ सुन्दै हुनुहुन्छः

नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सम्पन्न

बाँके । महिला उद्यमीहरूको उत्पादन प्रवद्र्धन र बजारीकरणका लागि नयाँ सम्भावना उजागर गर्दै नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८१ सम्पन्न भएको छ। महिला उद्यमी संघ नेपाल बाँके (विन बाँके) को आयोजनामा फागुन ६ देखि १० गतेसम्म नेपालगन्जमा प्रदर्शनी आयोजना गरिएको थियो।

महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा उत्पादनको बजारीकरणका लागि विन बाँकेले प्रत्येक वर्ष प्रदर्शनीको आयोजना गर्दै आएको छ। नेपालगन्ज बागेश्वरी मन्दिर परिसरको योगा हलमा भएको यस प्रदर्शनीमा लुम्बिनी र कर्णाली प्रदेशका महिलाहरूले आफ्ना उत्पादनहरू बिक्री तथा प्रदर्शन गरेका थिए। प्रदर्शनीमा करिब ६० महिला उद्यमीहरूले स्टल राखेका थिए।

प्रदर्शनीको समापन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले सरकारले गर्नुपर्ने काम विन बाँकेले गरिरहेको बताउनुभयो। स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्न प्रदेश सरकारले पहल गरिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य र केएल दुगड ग्रुपको मुख्य प्रायोजनमा सम्पन्न प्रदर्शनीका अवसरमा महिला उद्यमीका समस्या, चुनौती र सम्भावनासम्बन्धी संवाद कार्यक्रम, सफल महिला उद्यमीहरूका अनुभव आदान–प्रदान, युवाहरूलाई उद्यमशीलता प्रवर्द्धन गर्ने प्रेरणा कार्यक्रम तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो। 

आयोजक विन बाँकेकी अध्यक्ष साबित्रा पोखरेल बस्नेतले महिला उद्यमीहरूलाई आर्थिक रूपमा सक्षम बनाउन प्रदर्शनीको आयोजना गरिँदै आएको बताउनुभयो । 

यस वर्षको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पूर्वी रुकुम, सल्यान लगायतका जिल्लाबाट महिला उद्यमीको प्रतिनिधित्व रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button