तपाईँ सुन्दै हुनुहुन्छः

‘जलवायु परिवर्तनले पशुपालन व्यवसायमा असर’

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा जलवायुमा आएको परिवर्तनका कारण पशुपालन व्यवसायमा असर परेको पशु विज्ञहरुले बताउनुभएको छ । 

मधेश प्रदेश कृषि निर्देशनालय नक्टाझिझमा केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घको आयोजना तथा एफएओको आर्थिक सहयोगमा आज भएको कार्यक्रममा जलवायुमा आएको परिवर्तनबाट पशुपालन व्यवसायलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरिएको हो । 

मधेश प्रदेशका दुग्ध विकास बोर्डका उपाध्यक्ष एवं वरिष्ठ पशु चिकित्सक डा.शम्भु नारायण साहले जलवायु परिवर्तनका कारणले तापक्रममा वृद्धि हुँदै गएको र त्यसका कारण पशु चौपायाहरूले चाँडो बच्चा पाउने अवस्था सृजना भएकाले ती चौपायाबाट दूध तथा मासुको उत्पादनमा नकारात्मक असर पर्दे गएको बताउनुभयो ।

अर्का पशु विज्ञ श्याम यादवले विश्वमा जलवायुमा आएको परिवर्तनका कारणले वर्षेनी रुपमा तापक्रममा वृद्धि भइरहेको र यसका कारण पशुमा दूधको उत्पादनमा कमी आउने भएकाले जलवायु अनुकूलनका उपायहरू अपनाउनका लागि किसानहरूलाई सुझाव दिनुभयो ।  

कार्यक्रममा पशुपालन गर्दा कम तापक्रम हुने प्रविधिको प्रयोग गरेर पशु गोठको निर्माण गर्नुपर्ने, गोठलाई बढ्दो तापक्रमबाट जोगाई राख्नका लागि  परम्परागत निर्माण सामाग्रीहरूको प्रयोग गर्नुपर्ने, घरको छानामाथि खर, माटो प्रयोग गर्नुपर्ने, चिसो पानी तथा पोषिलो खान कुरा पशुलाई दिन पशुपालक किसानहरूमा विज्ञहरुले सुझाव दिनुभयो । 

केन्द्रीय पशुपक्षी मत्स्य सहकारी संघका वरिष्ठ उपाध्यक्ष नथुनी यादवले जलवायु परिवर्तनका कारणले पछिल्लो समयमा पशुपालन व्यवसायमा परेको नकारात्मक प्रभाव तथा यसबाट जोगिने उपायहरूका विषयमा पशुपालन तथा डेरीको क्षेत्रमा संलग्न रहेका किसानहरूलाई जानकारी दिन कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा सहभागी धनुषाका पशुपालक किसान विर्जू साहले जलवायु परिवर्तनका कारणले आफूले पालेका महँगो तथा उन्नत जातको गाईको थुनमा रोग लागेका कारणले व्यवसाय परिवर्तन गर्ने अवस्थामा पुगेको दुःखेको गर्नुभयो । 

कार्यक्रममा पशुपालक विज्ञ, डेरी उद्योगका अगुवा किसानहरूको सहभागिता हरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button