चिम्टेश्वरमा ज्ञान यज्ञको शुभारम्भ, ऐतिहासिक र धार्मिक महत्त्वलाई प्रवर्धन गर्ने प्रयास
काठमाडौँ। नुवाकोटको ऐतिहासिक एवं पुरातात्विकस्थल चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ–२०८१ सुरु भएको छ । बुधबारदेखि सुरु भएको ज्ञान यज्ञ यही फागुन १४ गते महाशिवरात्रिका दिनसम्म सञ्चालन हुनेछ ।

बुधबार ज्ञान यज्ञको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चिम्टेश्वर क्षेत्रको ऐतिहासिकतालाई विश्वमाझ पु¥याउन सरकारले सहयोग गर्ने बताउनुभएको छ । उहाँले चिम्टेश्वर क्षेत्रमा आवश्यक पूर्वाधार विकासका लागि सरकारले यथोचित प्रयास गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

चिम्टेश्वर विकास समिति, महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष एवं वडा–२ का अध्यक्ष रामचन्द्र तिमल्सिनाले चिम्टेश्वर क्षेत्रको ऐतिहासिकता, पर्यटकीय पक्षसँगसँगै धार्मिक महत्वलाई जागरुक गराउने हेतुले ज्ञान यज्ञ आयोजना गरिएको बताउनुभयो । उहाँकाअनुसार यज्ञको पूर्वाङ्ग तथा शोभा यात्रा बुधबार गरिएको छ भने पाठपारायण तथा प्रवचन बिहीबारदेखि १४ गतेसम्म हुनेछ । फागुन १४ गते महाशिवरात्रि भएकाले रुद्राभिषेक गरिनेछ । फागुन १५ गते साँझ दीप प्रज्वलन, रातभर जाग्राम तथा भजनकीर्तन हुने समितिले जनाएको छ ।

ज्ञान यज्ञ पण्डित नारायण न्यौपानेले कथावाचन गर्नुहुनेछ । यसबाट उठेको भेटी मन्दिर परिसरको पूर्वाधार विकासका लागि खर्च गरिने समितिले जनाएको छ । ज्ञान यज्ञ शुभारम्भ कार्यक्रममा बेल्कोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङ, उप–प्रमुख शिवप्रसाद दाहाल, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाअध्यक्ष आशामान सङ्गतलगातको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्