तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हबको रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हबको रुपमा बिकास गर्नुपर्ने बताउनुभएको छ । 

गण्डकी स्वजागरण अभियानको शनिबार पोखरामा शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश भित्र ‘वेलनेस’ टुरिजमको विकासका लागि प्रदेश सरकारले आफ्नो नीति कार्यक्रम र बजेटमा उच्च प्राथमिकता दिने जनाउँदै पोखरा र गण्डकी प्रदेशमा वेलनेस टुरिजमको हबको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

धार्मिक सम्पदा, ऐतिहासिक स्थलहरू, हिमाल, तालहरू, साहसिक खेलको ठूलो सम्भावना रहेको गण्डकी प्रदेशलाई योग ध्यानको केन्द्रको रुपमा विकास गर्न स्थानीय, प्रदेश र संघ सरकारबीच सहकार्य आवश्यक पर्ने उहाँले जनाउनुभयो । 

घरघरमा स्वजागरण गराउने लक्ष्य सहित स्थानीय तहसँगको सहकार्यमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मार्फत कार्यक्रम कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनुभयो । 

गण्डकी स्वजागरण अभियानमा आइतबारदेखि एक साता विराट् चक्र विज्ञान’ को अभ्यास सञ्चालन हुने भएको छ । पोखरा रंगशालाको वैकल्पिक फुटबल मैदानमा उक्त कार्यक्रमबाट एक महिना फुटबल प्रशिक्षण प्रभावित हुने भएपछि उक्त कार्यक्रम हाल पोखरा नयाँ बजारको प्रदर्शनी केन्द्रको डोममा हुने भएको छ । 

गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको लागि भने कार्यक्रम स्थगित गरिएको अमेरिकाका संयोजक तथा हाल पोखराका स्वयंसेवक लोक तिवारीले बताउनुभयो । जीवन विज्ञान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट कार्यक्रममा सहभागी भएको उहाँले जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button