परेन हिउँ, सप्रेन वाली, मुगालिलाई भोकमरीको चिन्ता

मुगु । माघ महिनाको अन्त्यतिर आइपुग्दा पनि हिउँ नपरेपछि मुगु जिल्लाका स्थानीयहरू चिन्तित भएका छन् । हिउँद महिनामा पर्याप्त मात्रामा हिउँ परे हिउँदे अन्नबाली र फलफूलको उत्पादन राम्रो हुने भए पनि यस वर्षको माघ मसान्तसम्म हिउँ नपरेपछि मुगालिहरू भोकमरीको डरले त्रसित भएका छन्।
मुगु हिमाली जिल्ला भएकाले यहाँका खेतबारीमा वर्षमा दुईवटा मात्र बाली पाक्ने गर्छ। जेठ(असारमा लगाएको वर्षे बाली असोज/कार्तिकमा घर भित्र्याइन्छ भने कार्तिक(मंसिरमा लगाएको हिउँदे बाली चैत/वैशाखमा भित्र्याइन्छ।
“जेठ/असारमा राम्रो वर्षा भए वर्षेबाली र हिउँदमा राम्रो हिउँ परे हिउँदे बालीले राम्रो उत्पादन दिन्थ्यो। कृषकहरूलाई छ महिनासम्म खानाको समस्या हुँदैनथ्यो। तर, यो वर्ष माघ मसान्त लाग्दा पनि हिउँ परेको छैन,” छायानाथ रारा नगरपालिका वडा नं १० का स्थानीय रूप बहादुर सेजुवाल भन्नुहुन्छ ।

कार्तिकमा लगाइएको गहुँ र जौ पानी र हिउँ नपर्दा राम्रोसँग उम्री सकेको छैन। उम्रेका बोटले पनि पानी नपाउँदा सुक्दै गएका छन्। हिउँ परे फाल्गुणमा पाखे धान लगाइन्थ्यो, तर यो पटक भोकमरी पर्ला जस्तो छ। हिउँदे बाली राम्रो नभए घर परिवार कसरी पाल्ने हो भन्ने चिन्ता बढ्दै गएको सेजुवाल बताउनु हुन्छ ।
“१० वर्षअघिसम्म असोज, कार्तिक, मंसिरमा पनि हिउँ पर्थ्यो। ती महिनामा नपरे ढिलोमा पुस र माघको पहिलो सातामा प्रायः बाक्लो हिउँ पर्थ्यो। त्यो बेला परेको हिउँ चैत/वैशाखसम्म पनि खेतबारीमा रहन्थ्यो भने हिमाल बाह्रै महिना हिउँले ढाकिएका हुन्थे। अहिले त हिमालमा हिउँ नै छैन, हामी २ वर्षदेखि राम्रोसँग हिउँ देख्न पाएका छैनौँ,” छायानाथ रारा नगरपालिका वडा नं ५ ढुम गाउँका स्थानीय कमल बुढा बताउनु हुन्छ ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुका प्रमुख चिकित्सक निर्मल नगरकोटी भन्नु हुन्छ “सुख्खा वातावरणले श्वासप्रश्वास सम्बन्धी हावाजन्य रोग फैलिने सम्भावना बढी हुन्छ भने बालबालिका र ज्येष्ठ नागरिकहरू बढी प्रभावित हुन्छन्।”

अन्नबाली मात्र होइन, हिउँ पर्दा स्याउ, ओखर, जडीबुटी पनि राम्रो फल्ने र पाइने हुन्छ। “अन्न कम उत्पादन भए पनि जडीबुटी सङ्कलन गरेर, फलफूल बेचेर घरखर्च र बालबच्चाहरूको पढाइ खर्च जुटाउँथ्यौँ। तर, यो वर्ष जडीबुटी र फलफूलको पनि राम्रो उत्पादन होला जस्तो छैन। अब कसरी घरपरिवार पाल्ने, घरखर्च जुटाउने होला,” सोरु गाउँपालिका सीप गाउँका स्थानीय किसिम क्षेत्री चिन्ता व्यक्त गर्छन्।
मौसम पूर्वानुमान महाशाखाले हिउँ पर्ने सम्भावना भएको सूचना रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा प्रवाह गर्दा कृषकहरू खुशी हुने तर, भोलिपल्ट हिउँ नपर्दा खिन्न हुने अवस्था छ। मुगु जिल्लाका कृषकहरू मौसमको अनिश्चिततासँगै भोकमरीको जोखिममा छन्।
प्रतिक्रिया राख्नुहोस्