तपाईँ सुन्दै हुनुहुन्छः

केही वर्ष हराएको कपास खेती पुनः शुरू, कपडा उद्योगबाट एक करोड बढीको कारोबार

मुगु । केही वर्षहरूसम्म हराएको कपास खेती पुनः सुरु भएसँगै मुगुको सोरू गाउँपालिकामा कपडा उद्योग फस्टाउँदै गएको छ। हाल सोरू गाउँपालिकाका ११ वटै वडाका ५३ स्थानमा कपास खेतीका फारम सञ्चालनमा छन्, जसले कपडा उद्योगलाई कच्चा पदार्थ उपलब्ध गराइरहेका छन्।

सोरू गाउँपालिका-८, तारापानीमा परिवर्तनशील साना किसान सहकारी संस्था लिमिटेडको नेतृत्वमा कपडा उद्योग सञ्चालनमा आएको हो।

उद्योगका सञ्चालक पदमहादुर मल्लका अनुसार, यहाँ सिरक, डसना, सिरानी, तन्ना, पटुका, धोती, दौरा–सुरुवाल, गलबन्दी, प्याड, ब्याण्डेज, कोटको कपडा, टसीखादा जस्ता सामग्री उत्पादन भइरहेको छ। कपास खेती फागुनदेखि जेठसम्म गरिन्छ भने असोजदेखि कात्तिकको अन्त्यसम्म संकलन र भण्डारण गरिन्छ।

सहकारी संस्थाले प्रति केजी २०० रुपैयाँको दरले सहकारीसँग आबद्ध कृषकहरूबाट कपास खरिद गर्ने व्यवस्था मिलाएको उद्योग सञ्चालक मल्लले जानकारी दिनुभयो।

हाल, वार्षिक करीब ४ सय टन कपास उत्पादन भए पनि यसको मुख्य खपत मुगु जिल्लाभित्र सीमित छ। जिल्लाबाहिर यातायातको सुविधा भएपनि गाडीमा सामान ढुवानी गर्दा सामान थोरै जाने र ढुवानी खर्च बढी लाग्ने समस्याले नेपालमै उत्पादित सामान अन्य जिल्ला बाहिर पनि माग भएपनि मुगु जिल्लामा व्यापार खुम्च्याउनु परेको छ।

उद्योगमा हाल २२ जना कर्मचारी कार्यरत छन्, जसमा असहाय, अपाङ्ग र महिलालाई रोजगारीमा प्राथमिकता दिइएको छ। यस उद्योगबाट उत्पादित लत्ता कपडा स्थानीय बासिन्दाहरूको मागअनुसार जिल्लामै खपत हुँदै आएको छ।

नेपाल सरकारले पछिल्लो समयमा स्थानीय उत्पादनलाई बढावा दिन जोड दिइरहेका बेला मुगु जिल्लाको आर्थिक समृद्धिमा यस कपडा उद्योगले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। बेरोजगारीले मानिसहरू बिदेश पलायन भइरहेका बेला यो उद्योगले देशमै केही गर्न सकिन्छ भन्ने पाठ पनि सिकाएको छ।

संस्था मुनाफामा रही २२ जना कर्मचारीलाई रोजगारी दिनु उद्योगको फस्टाउनुको सुचक मान्न सकिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button