तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही जिल्लामा १ सय ७१ जना कुष्ठरोगका बिरामी

रुपन्देही । रुपन्देहीमा १ सय ७१ जना कुष्ठरोगका बिरामी छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार गत आर्थिक वर्षमा १ सय ६० जना कुष्ठरोगका बिरामी रहेका थिए । रुपन्देहीमा चालु आर्थिक वर्षको पुस महिनासम्ममा थप ८० जना नयाँ बिरामी फेला परेका थिए । यस अवधिमा १ सय ७१ जना बिरामी उपचाररत रहेको र अन्य निको भएको कार्यालयले जनाएको छ ।

वि.सं. २०६६ माघमा नेपालमा कुष्ठरोग उन्मुलनको घोषणा गरिएको थियो । उन्मुलनको घोषणा अनुरुप प्रति १० हजार जनसङ्ख्यामा १ प्रतिशत भन्दा कम बिरामी कम सङ्ख्या हुनुपर्नेमा रुपन्देही लगायत १८ वटा जिल्लामा यो रोगका बिरामीको सङ्ख्या धेरै छ ।

७२ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा द लेप्रोसो मिसन नेपालको सहयोग तथा सिद्धार्थनगर नगरपालिकाको समन्वयमा स्वास्थ्य कार्यालय, रुपन्देहीले भैरहवामा आयोजना गरेको कुष्ठरोगको रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा कुष्ठरोगको चेकजाँच तथा उपचारमा गरिने बेवास्ताका कारण कुष्ठरोगका नयाँ बिरामी फेला पर्ने गरेको बताइएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ क्षय कुष्ठरोग निरीक्षक टीकाराम अधिकारीले प्रत्येक वर्ष जनवरीको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाइँदै आइएको बताउनुभयो । उहाँले कुष्ठरोगको समयमै उपचार गरे निको हुने बताउनुभयो ।  ‘स्नायु प्रणालीमा असर पुर्‍याइ शरीरका अङ्गहरू नै अङ्गभङ्ग गराउने यो रोग समयमै उपचार तथा नियमित औषधि सेवन गरे पूर्ण रुपमा निको हुन्छ, ’अधिकारीले भन्नुभयो’ । 

रुपन्देहीमा सबैभन्दा धेरै ओमसतिया, गैडहवा, मायादेवी गाउँपालिका, सैनामैना, देवदह र तिलोत्तमा नगरपालिकामा कुष्ठरोगका बिरामी छन् । पछिल्लोपटक शुद्धोधन, मायादेवी, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकामा धेरै नयाँ बिरामी फेला परेका छन् ।

कुष्ठरोग चिकित्सक स्वर्णिम ज्ञवालीले प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कुष्ठरोग अर्को व्यक्तिबाट सर्ने गरेको बताउनुभयो। उहाँले समाजमा अझै पनि कुष्ठरोगका बिरामी खुलेर नआउँदा श्वासप्रश्वासको माध्यमबाट परिवार तथा अर्कोलाई सर्ने क्रम जोखिमका रुपमा बढ्दो भएको बताउनुभयो । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यस वर्ष ‘एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ’ भन्ने मूल नाराका साथ ७२ औँ विश्व कुष्ठरोग दिवस मनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button