संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधन सहित संसदीय समितिबाट पास
काठमाडौँ । संघीय निजामती सेवा विधेयकको प्रस्तावनामा संशोधन सहित सर्वसम्मत रुपमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएको छ ।
समितिको आजको बैठकले विधेयकको प्रस्तावनामा संशोधन गरी ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ: पेशागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, जनउत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनयुक्त संयन्त्रको रूपमा विकास गर्न वाञ्छनीय भएकोले भन्ने व्यवस्था गरेको छ ।
बैठकमा सांसदहरूको रायका आधारमा समितिले ‘पारदर्शी, समावेशी, जनउत्तरदायी र प्रविधिमैत्री’ भन्ने शब्द थप गर्ने निर्णय गरेको हो ।
छलफलमा नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले समावेशी संविधानको मुल स्पिरिट भएको भन्दै समावेशी शब्द राख्नुपर्ने बताउनुभयो । नेकपा एमाले सांसद रघुजी पन्त, नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू, राप्रपा सांसद बुद्धिमान तामाङ, जसपाका सांसद अशोक राईले लगायतले जनउत्तरदायी र प्रविधिमैत्री शब्द राख्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
समितिले आजदेखी विधेयकमाथिको दफावार छलफल शुरु गरी संघीय निजामती सेवा गठन, सञ्चालन, र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावनामा संशोधनसहित र परिच्छेद १ को दफा १, ३ र ४ सर्वसम्मत रुपमा पास गरेको छ ।
विधेयकको परिच्छेद १ को दफा १ मा विधेयकको संक्षिप्त नाम र प्रारम्भ, दफा ३ मा संघीय निजामती सेवा सम्बन्धी केन्द्रिय निकाय र दफा ४ मा संघीय निजामती सेवा सञ्चालनका आधारभूत सिद्धान्त रहेका छन् ।
समितिले अब नियमित रुपमा विधेयक माथिको दफावार छलफल गरेर विधेयक यही आउँदो अधिवेशनमा सभामा पेश गर्ने गरी काम गर्ने समितिका सभापति रामहरि खतिवडाले जानकारी गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्