प्रचलित कानुन अनुसार समय सापेक्ष काम गर्न डिआइजी अधिकारीको निर्देशन
टीकापुर ,कैलाली । सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपक अधिकारीले प्रचलित नेपाल सरकारको नियम कानुनमा रही समय सापेक्ष काम गर्न मातहतका सकल दर्जालाई निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरको २२ औँ स्थापना दिवसको अवसरमा आज टीकापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो निर्देशन दिनुभएको हो ।
सशस्त्र प्रहरीले अहिलेसम्म सबैको समन्वय र सहकार्यमा काम गरिरहेको बताउँदै अबका दिनमा पनि सोही अनुरुप काम गर्दै जाने डिआइजी अधिकारीले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
शिक्षालयका प्रमुख तथा सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक नरेन्द्र सेनले सबैको सहयोगले शिक्षालयलाई यहाँसम्म पुगाउन सकिएको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भविष्यमा ऊर्जाशील भएर राष्ट्र सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थापना दिवसका अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा सहभागीहरूलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएका थिए । साथै ५ जना स्वर्गारोहण भैसकेका सशस्त्र प्रहरीका परिवारलाई पनि सम्मान गरिएको थियो ।
२०५९ सालमा टीकापुरमा सशस्त्र प्रहरी बल उग्रतारा गणको रुपमा स्थापना भई २०७५ सालमा सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्