तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको ६ महिनाको पूँजीगत खर्च ७२ करोड मात्र

जुम्ला । चालु आर्थिक वर्षको ६ महिनामा जुम्लामा संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरूको पूँजीगत खर्चको अवस्था निराशाजनक रहेको छ। पुस मसान्तसम्मको विवरण अनुसार, जुम्लामा संघ र प्रदेश सरकारले विनियोजन गरेको पूँजीगत बजेटको अधिकांश हिस्सा खर्च गर्न नसकेको देखिएको हो।

चालु आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारबाट जुम्लामा कुल साढे ८ अर्ब ५९ करोड २४ लाख ९६ हजार विनियोजन गरिएको थियो। त्यसमा ६ महिनामा ३ अर्ब ३३ करोड २० लाख ८० हजार खर्च भएको छ। तर, यसमा पूँजीगत खर्चको अनुपात निकै कम भएको छ। संघीय सरकारबाट जुम्लामा ३ अर्ब २४ करोड ३१ लाख ९२ हजार ७१४ रुपैयाँ पूँजीगत खर्चका लागि विनियोजन गरिएको थियो, जसमा पुस मसान्तसम्म केवल ६३ करोड ३५ लाख रुपैयाँ मात्रै खर्च भएको छ।

पुँजीगत खर्चको तुलनामा चालु खर्च उल्लेखनीय रूपमा बढी भएको छ। चालु खर्चका लागि विनियोजित ५ अर्ब ३४ करोड ९३ लाख रुपैयाँमध्ये ६ महिनामा २ अर्ब ६९ करोड ८५ लाख रुपैयाँ खर्च भएको छ। चालु आर्थिक वर्ष सकिन ६ महिना बाँकी रहँदा जुम्लामा संघ र प्रदेशका कुल ५ अर्ब २६ करोड रुपैयाँ बजेट खर्च हुन बाँकी छ, जसमा अधिकांश पूँजीगत बजेट अझै खर्च गर्न सकेको छैन।

जुम्लामा पूँजीगत खर्चको सुस्त प्रवृत्तिका कारण जिल्ला विकासका गतिविधिहरूमा खास प्रगति देखिएको छैन। पहिलो चौमासिकमा पूँजीगत खर्चमा गति नलिँदा बजेटको खर्च असारे विकासमा निर्भर बन्यो। पुस महिनामा मात्र १० करोड ७८ लाख रुपैयाँ खर्च भएको जानकारी कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका सूचना अधिकारी शान्ता चौलागाँईले दिनुभयाे । उहाँका अनुसार पुस महिनामा पूँजीगत खर्चभन्दा चालु खर्च धेरै भएको छ। पुस महिनामा मात्र ८६ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ।

प्रदेश सरकारको बजेट खर्चको अवस्था पनि चिन्ताजनक छ। प्रदेश लेखा इकाईका अनुसार, कर्णाली प्रदेश सरकारबाट जुम्लामा चालु आवको पुस मसान्तसम्म २७ करोड ६० लाख रुपैयाँ मात्र खर्च भएको छ। चालु र पूँजीगत गरी कर्णाली प्रदेशले १ अर्ब ६४ करोड बजेट विनियोजन गरेको थियो, जसमा ९३ करोड ३३ लाख रुपैयाँ पूँजीगत खर्चका लागि विनियोजन गरिएको थियो, तर पुस महिनासम्म केवल ९ करोड ७७ लाख रुपैयाँ मात्र खर्च भएको छ।

प्रदेशको बजेट खर्चको प्रतिशत पनि धेरै कम रहेको छ। प्रदेशका कार्यालयहरूले पूँजीगत खर्चमा विशेष ध्यान नदिई विकासका कार्यहरूमा ढिलाइ गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button