तपाईँ सुन्दै हुनुहुन्छः

योजना कार्यान्वयनमा जनस्तरबाट निगरानी बढाउनुस् : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा कार्यान्वयन भइरहेका आयोजनाको निगरानी जनस्तरबाट हुनुपर्ने बताउनु भएको छ । 

नेकपा एमाले धुर्कोट गाउँ पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले चालु आर्थिक वर्षमा पुरक बजेट नल्याउने स्पष्ट पार्दै वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनकालागि जनस्तरबाट निगरानी बढाउनुपर्ने बताउनु भएको हो । ‘यहाँहरूले दिएका योजनाहरू अर्को वर्षको बजेटमा प्राथमिकताको आधारमा समावेश गर्नेछौँ । यसपाली पुरक बजेट आउँदैन । नयाँ बजेट बन्ने बेलामा के कति हुन्छ समेट्ने कोशिस हुन्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘चालु वर्षको बजेट ल्याउँदा म अर्थमन्त्री थिएँ । त्यही बजेट नै कार्यान्वयन हुन्छ । बजेट कार्यान्वयनमा यहाँहरूले निगरानी गर्न भने जरुरी छ ।’ 

मुख्यमन्त्री आचार्यले प्राथमिकताको आधारमा योजना तर्जुमा गरिने स्पष्ट पार्नु भयो । ‘चालु वर्षमा पनि यहाँ राम्रै बजेट परेको छ । परेका बजेटको सदुपयोगमा बढी ध्यान दिन जरुरी छ’उहाँले भन्नुभयो, ‘योजना पर्ने तर, कार्यान्वयन नहुने, गुणस्तरीय नहुने अवस्था आउनु भएन । राम्रोसँग कार्यान्वयन गर्न यहाँहरूको सक्रियता चाहिन्छ ।’ लुम्बिनी प्रदेश सरकारले विकास र समृद्धिबाट विकट बस्तीलाई जोड्ने गरी प्राथमिकतामा राखेको बताउनु भयो । कार्यक्रममा एमाले गाउँ पार्टी कमिटीले विभिन्न माग समेटिएको ज्ञापनपत्र मुख्यमन्त्री आचार्यलाई बुझाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button