तपाईँ सुन्दै हुनुहुन्छः

सिकलसेल एनिमिया रोगको पहिचानका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर । कञ्चनपुर को कृष्णपुर नगरपालिकामा सिकलसेल एनिमिया रोगको पहिचान तथा उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र निमेष सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।

आदिवासी थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा देखिएको सिकलसेल एनिमियाको पहिचान तथा उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनसिंह विष्टले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाको वडा नं. ८ र ९ मा शिविर सञ्चालन गरिएको छ। आइतबार नगरपालिकाको वडा नं. ९ मा सञ्चालन गरिएको शिविरमा ६ सय १२ जनाको रगत परीक्षण गर्दा ५० जनामा सिकलसेल एनिमियाको लक्षण देखिएको उहाँले बताउनुभयो ।

कृष्णपुर नगरपालिकाले विभिन्न समयमा गरि सबै वडामा सिकलसेलको पहिचान तथा उपचारका लागि शिविर सञ्चालन गरेको छ।

कृष्णपुर नगरपालिकाभर करिब २ सय जना सिकलसेलका बिरामी भएको स्वास्थ्य शाखा प्रमुख विष्टले बताउनुभयो । सङघिय सरकारले पनि सिकलसेलका बिरामीहरूको १ लाख बराबरको उपचार निःशुल्क गर्ने व्यवस्था गरेको छ।

थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमिया रोगको पहिचान तथा उपचारका लागि शिविर सञ्चालन गरिएको नगर प्रमुख हेमराज ओझाले बताउनुभयो । सिकलसेलको लक्षण देखिएकाहरूलाई कार्ड वितरण गरिने नगर प्रमुख ओझाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button