तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा नागरिकता सिफारिस अनलाइनबाटै

अछाम । अछाममा नेपाली नागरिकता प्रमाणपत्र लिनका लागि आवश्यक सिफारिसपत्र अब अनलाइन बाटै हुने भएको छ । जिल्ला प्रशासन कार्यालय अछामले ९१ वटै वडाहरू लाई नयाँ नागरिकता सिफारिस गर्दा अनिवार्य रुपमा अनलाइन प्रणाली मार्फत गर्न सूचित गरेको हो । जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र प्रतिलिपि बाहेक नयाँ नेपाली नागरिकता प्रमाण पत्र जारी गर्न अनलाइन मार्फत सिफारिस गर्नु पर्नेछ ।

 नेपाली नागरिकता प्रमाणपत्र वितरण तथा नागरिकताको अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्य अनुरुप स्थानीय तहबाट नागरिकता सूचना व्यवस्थापन प्रणाली एक्सट्रनल मोड्युल (External Module) को प्रयोग गरी सिफारिस गर्न सकिने छ । उक्त व्यवस्था कार्यान्वयन गर्न अछाम जिल्लास्थित सबै स्थानीय तहका सूचना प्रविधि अधिकृत/वडा सचिवहरूलाई जिल्ला प्रशासन कार्यालय, अछामको समन्वय र सहजीकरणमा गृह मन्त्रालयले पौष १८ गते भर्चुअल (Virtual)  माध्यमबाट अनलाइन नागरिकता सिफारिस सम्बन्धी तालिम दिएको थियो ।

पूर्व सूचना अनुसार नै हिजो आइतबार देखी अनलाइन मार्फत नेपाली नागरिकताको अनुसूची सिफारिस शुरु भइसकेको प्रमुख जिल्ला अधिकारी शिब प्रसाद लम्सालले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button