तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारकर्मी बजगाई अभिनन्दित

काठमाडौँ ।  १२ औँ राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा अग्रज सञ्चारकर्मी नवराज बजगाई अभिनन्दित हुनुभएको छ  ।

पाटन दरबार क्षेत्र ललितपुरमा बुधबार राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको अग्रज स्रष्टा सम्मान तथा अभिनन्दन समारोहमा सञ्चारकर्मी बजगाई राष्ट्रिय धरोहर अग्रज पत्रकार सम्मानबाट अभिनन्दित हुनुभएको हो ।

राष्ट्रिय मधेश आयोग अध्यक्ष प्रा.डा.विजयकुमार दत्त, दलित आयोग अध्यक्ष प्रा.डा.देवराज विश्वकर्मा, पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मालगायतले  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यद्वारा हस्ताक्षरित अभिनन्दन–पत्र बजगाईँलाई प्रदान गर्नुभयो । 

सो अवसरमा अग्रज स्रष्टाहरू प्रा.डा. राजेन्द्र बिमल, प्रा.डा.वीणा पौड्याल, राष्ट्रिय गानका प्रणेता व्याकुल माइला, विशिष्ट साहित्यकार मोहन दुवाल, अग्रज सञ्चारकर्मीहरू अखण्ड भण्डारी, गोपीकृष्ण ढुङ्गाना, त्रिभुवनचन्द्र वाग्ले, प्रकाश सुवेदी, दिलीप ढकाल, प्रशान्त माली, सर्जक÷सङ्गीतकार राजेन्द्र बजगाई, युवा अभियन्ता चक्र बहादुर चन्दलगायतलाई पनि सम्मानित गरिएको थियो । 

विगत दुई दशकदेखि काभ्रेपलाञ्चोकबाट पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईँलाई राष्ट्रको श्रीवृद्धि तथा राष्ट्रको शिर उच्च राख्न अनवरत गरेको सत्कर्मको उच्च सम्मान र पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्‍याएबापत अभिनन्दन गरिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button