पर्यटक आकर्षित गर्न भेडेटारमा फुड फेस्टिभल सुरु
धनकुटा । पर्यटक आकर्षित गर्न कोशी प्रदेशको पर्यटकीय नगरी भेडेटारमा १२ औ फुड फेस्टिभल सुरु भएको छ ।
फेस्टिभलको कोशी प्रदेशका पर्यटन मन्त्री षदानन्द मण्डलले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दै मन्त्री मण्डलले फेस्टिभलबाट पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनुभयो ।
होटल एसोसिएसन भेडेटारको आयोजनामा सुरु भएको फेस्टिभलमा स्थानीय परिकार, अर्ग्यानिक तरकारी फलफूल, कृषि सामाग्री, प्रदर्शनीमा राखिएको छ । १८ गतेसम्म गरि ३ दिन सञ्चालन हुने फेस्टिभलमा ५० हजार पर्यटक भित्राउने तथा दुई करोड बढीको कारोबार गरिने लक्ष्य राखिएको आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिनुभयो ।
२०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फेस्टिभल कोभिड १९ का कारण २०७७ सालमा सञ्चालन हुन सकेको थिएन । धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकासका लागि अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा फेस्टिभल आयोजना गरिएको होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्