पर्यटकको पर्खाइमा अनौठो साततले लुङ्धाङ गुफा
धनकुटा । धनकुटा नगरपालिका वडा नं. १ को ओक्मालुङको लुङ्धाङ जङ्गलमा रहेको अनौठो गुफा ओझेलमा परेको छ । झन्डै सय मिटर उचाइको अजंगको ढुङ्गाभित्र सात तलको गुफा रहेको छ। करिब ३० मिटर लामो गुफा एक स्थानबाट प्रवेश गरेर अर्को स्थानबाट निस्किन सकिन्छ।
गुफा प्रवेश गर्ने साँगुरो ठाउँ पार गरेरभित्र पुग्दा फराकिलो भाग देख्न सकिन्छ। उत्तरतर्फ रहेको प्रवेशद्वारबाट करिब १६ मिनेटमा दक्षिणी द्वारबाट बाहिरिन सकिन्छ। गुफाभित्रका ढुङ्गामा देखिने प्राकृतिक दृश्य नियाल्न सकिन्छ। गुफाको भित्री भागमा चमेराको झुन्ड समेत देख्न सकिन्छ। पहिलो तलामा पुग्दा त्यस स्थान भन्दा तल र माथि दुई तला नियाल्न सकिन्छ। गुफा भित्रको असहज स्थानमा समेत पर्यटकको सहजताको लागि फलामको सिँढी निर्माण गरिएको स्थानीय इन्द्र थापाले जानकारी दिनुभयो।
पर्याप्त पूर्वाधार भएर पनि प्रचारप्रसार अभावका कारण गुफा ओझेलमा परेको हो। गुफा धनकुटाको पर्यटकीय नगरी हिलेबाट पूर्वतर्फ करिब ४ किलोमिटरको दुरीमा रहेको छ। कच्ची सडक मार्फत त्यहाँसम्म पुग्न सकिन्छ। गुफासम्म पुग्ने पैदलमा मार्ग झोलुङ्गे पुल गुफामा पूर्वाधार विकास गरिएको स्थानीय अर्जुन छाराहाङले जानकारी दिनुभयो। गुफाभन्दा करिब पाँच सय मिटरको दूरीमा ५० मिटर अग्लो झरना समेत रहेको छ।
प्रतिक्रिया राख्नुहोस्