तपाईँ सुन्दै हुनुहुन्छः

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघेद्धारा लुम्बिनी भ्रमण

रुपन्देही । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे  शनिबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको हो । विक्रमासिंघेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शनसँगै पुष्करणी पोखरी, अशोक स्तम्भको भ्रमण गर्नुभएको हो । पूर्वराष्ट्रपति विक्रमसिंघेलाई लुम्बिनी विकास कोषका सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, सूचना शाखाका दिलिप सिंह राई र विकास लामाले खादाले स्वागत गर्नुभएको हो । 

परिवारसहित लुम्बिनी भ्रमणमा आएका विक्रमासिंघेले मायादेवी मन्दिरको दर्शनसँगै पूजाआजा र परित्राण पाठ गर्नुभएको थियो । उहाँले लुम्बिनीको पछिल्लो अवस्थाबारे चासो राख्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । 

श्रीलङ्का बुद्धिष्ट देश भएकाले पूर्वराष्ट्रपतिले लुम्बिनीको रुचिपूर्वक भ्रमण गरेको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिनुभयो । उक्त अवसरमा कोषकातर्फबाट राजदूत पूर्वराष्ट्रपति विक्रमासिंघलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । निजी भ्रमणमा आएका उहाँले बुद्ध जन्मस्थल लुम्बिनीसँगै बृहत्तर लुम्बिनीका अन्य क्षेत्रहरूको समेत भ्रमण गर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button