नयाँ कार्यसमिति चयनका लागि तामाङ पत्रकार सङ्घको बन्द सत्र जारी
काठमाडौँ । तामाङ पत्रकार सङ्घको सातौँ महाधिवेशन काठमाडौँमा सुरु भएको छ ।
आज काठमाडौँको एयरपोर्ट होटलमा महाधिवेशनको उद्घाटन गर्नु हुँदै उर्जाराज्यमन्त्री पूर्ण बहादुर तामाङ कान्छारामले आफ्नो समुदायका विषयहरूलाई सशक्त ढंगले उठाउन तामाङ पत्रकारले एकिकृत भएर क्रियाशील हुनु पर्नेमा जोड दिनुभयो । नयाँ बन्ने कार्यसमितिले पत्रकारिताको माध्यमबाट समुदायलाई सुसुचित गर्ने आशा व्यक्त गर्दै उहाँले राज्यको तर्फबाट हुने सहयोगका लागि आफूले सक्दो पहल गने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रमको अवसरमा तामाङ पत्रकारिताको क्षेत्रबाट योगदान गर्नुभएका ३ जना पत्रकारलाई सम्मान समेत गरिएको थियो । पत्रकार जगत दोङ तामाङलाई रु १५ हजार राशिको रविन्द्र तामाङ पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ भने, जीवन लामा रु १५ हजार राशिको दिपेन्द्र दोङ तामाङ पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । यस वर्षका लागि रु १० हजार राशिको तामाङ मातृभाषा पत्रकारिता पुरस्कारबाट अस्मि स्याङ्तान सम्मानित हुनुभएको छ ।
नयाँ कार्यसमिति चयनका लागि अहिले बन्द शत्र जारी रहेको संघका पूर्व अध्यक्ष बिष्णु मोक्तानले जानकारी दिनुभयो । जारी बन्द शत्रले महासचिव तिर्थमान बल र कोषाध्यक्ष डोल्मा तामाङले प्रस्तुत गर्नुभएको सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरेको उहाँले जानकारी दिनुभयो । पत्रकारिता क्षेत्रमा क्रियाशील तामाङ समुदायका सदस्यहरूको सङ्गठित आवाजको रुपमा रहेको तामाङ पत्रकार सङ्घले आगामी कार्यकालका लागि ३५ सदस्यीय कार्यसमितिको टुङ्गो लगाउनेछ ।








प्रतिक्रिया राख्नुहोस्