तपाईँ सुन्दै हुनुहुन्छः

संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौँ : मन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताउनुभएको छ । 

शुक्रबार गृह मन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्नुहुँदै गृहमन्त्री लेखकले यस्तो बताउनु भएको हो । ‘जसले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो । उसले  नागरिकता पाउनै पर्छ  । तर, नागरिकता प्राप्त गर्न नहुने मान्छेले नागरिकता पाउने अवस्था बन्नुहुँदैन । यी दुई वटा कुरामा स्पष्ट छौँ,’ उहाँले भन्नुभयो ।

नागरिकता निकै संवेदनशील विषय भएको भन्दै यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ छ । ‘प्रक्रियागत झमेलाका कारणले नागरिकता नपाएको स्थिति हुनुहुँदैन, र सम्मानित सर्वोच्च अदालतबाट पटक पटक फैसला भएका छन् ।’  उहाँले भन्नुभयो– ‘पटक/पटक निर्देशन दिने काम भएका छन् । यी सबै कुरालाई मध्यनजर गरेर नागरिकता प्राप्तमा देखिएका समस्या समाधान गर्न सरकार अगाडी बढेको छ ।’

समितिले झण्डै ३ महिनामा सबै कुराको अध्ययन गरेर अदालतका फैसला, मौजुदा कानुनी व्यवस्था, विभिन्न जिल्ला प्रशासनमा देखिएका जटिलतालाई अध्ययन गरेको छ । गृहमन्त्री लेखकले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरेर कार्यान्वयनमा लैजाने बताउनुभयो । ‘हामी प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गर्छौँ । कहाँ के समस्या औँल्याउनु भएको छ ? समाधानका उपाय के देखाउनु भएको छ । यसको के निष्कर्ष उहाँहरूले दिनुभएको छ ? यो कुरालाई अध्ययन गरेर थप आवश्यक काम हामी गर्छौँ ।’

प्रतिवेदनमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता पाउन सहज हुने लगायतका विषय समेटिएका छन् ।

गृहमन्त्री बनेपछि लेखकले नागरिकता प्राप्तमा देखिएको जटिलताको गाँठो फुकाउन गम्भीर हुनुहुन्थ्यो । सोही अनुसार गतभदौको ३१ मा गृह मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डेको नेतृत्वमा उक्त समिति गठन भएको थियो । पाण्डे नेतृत्वको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button