जनकपुरधाममा प्रमुख आर्थिक सूचकाङ्कबारे प्रशिक्षण सम्पन्न
जनकपुरधाम । राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँको आयोजनामा जनकपुरधाममा तीन दिवसीय प्रमुख आर्थिक सूचकाङ्कको प्रयोग सम्बन्धि प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
जनकपुरधाममा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा अर्थशास्त्र तथा वाणिज्य शास्त्रका प्राध्यापक, विभिन्न पालिकाका तथ्याङ्क शाखाका प्रमुखहरू, मधेश प्रदेश सरकारका मन्त्रालयका जिम्मेवार पदाधिकारीहरू, जिल्ला तथ्याङ्क कार्यालयका प्रमुखहरू तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
यूकेएड तथा द एसिया फाउण्डेशनको सहयोगमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा देश, प्रदेश तथा स्थानीय निकायका आर्थिक सूचकका विषयहरू, सुशासन सहितका विज्ञहरूद्वारा प्रशिक्षण दिनु भएको थियो । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँका निर्देशकद्वय पद्मराज पाण्डे र तीर्थराज बरालले प्रशिक्षण दिनु भएको थियो ।
आइतबार देखि शुरु भएर आज सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको समापनमा सहभागी मध्ये नेपाल पत्रकार महासङ्घका केन्द्रीय परिषद् सदस्य एवं रेडियो पालका वरिष्ठ संवाददाता अजय कुमार झा, महिला पत्रकार लक्ष्मी चौधरी, मधेश प्रदेशका अर्थमन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्य र तथ्याङ्क अधिकृत शिवनारायण महतोले बोल्नु भएको थियो ।
आर्थिक सूचकहरूको कसरी समाचार वा अन्य कार्यमा विश्लेषण गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई प्रशिक्षण दिने काम भएका थिए । समापन कार्यक्रममा बोल्ने वक्ताहरूले आर्थिक क्षेत्रको सूचकहरूको विश्लेषण गरेर समाचार लेख्न तथा अन्य विश्लेषणको काम गर्नमा प्रशिक्षण कार्यक्रमले मद्दत पुग्ने विश्वास गरिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्