अज्ञात रोगका कारण १०० भन्दा बढी चौरी तथा याकको मृत्यु: उच्च हिमाली क्षेत्र सङ्कटमा

मुगु । मुगुम कार्मारोङ गाउँपालिका-२, मुगु गाउँमा स्थानीयहरूले पालेका चौरी तथा याकहरू अज्ञात रोगका कारण मरिरहेका छन्।
स्थानीय छोर्तेन लामाका अनुसार सोमबारसम्म ५०-६० वटा चौरी तथा याकहरूको उक्त रोगका कारण मृत्यु भैसकेकाे छ। उनले बताएअनुसार चौरी तथा याकहरूको मृत्यु हुनु अघि मुखबाट र्याल निकाल्ने, पातलो हरियो दिशा गर्ने, दिशामा हल्का रगत देखिने जस्ता लक्षण देखिन्छन्। यी लक्षण देखा परेपछि २४ घण्टाभित्रै चौरी तथा याकहरूको मृत्यु हुने गरेको छ।
गाउँपालिकाले खबर पाउनासाथ औषधि र पशु स्वास्थ्यकर्मीहरूको टोली मुगु गाउँ पठाएको भए पनि उपलब्ध जनशक्ति र औषधिले रोग नियन्त्रण गर्न असफल भएको बताइएको छ। चौँरीहरूको स्वाब सङ्कलन गरी ल्याबमा परीक्षण गर्न आवश्यक भए पनि पालिकासँग त्यसका लागि आवश्यक उपकरण र जनशक्ति नभएकोले जिल्ला भेटनरी तथा पशु अस्पताल गमगढी र प्रदेश सरकारसँग सहयोगको आग्रह गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले भेटनरी चिकित्सक र पशु प्राविधिकहरूको सात सदस्यीय टोली औषधि सहित घटना स्थलमा पुगेको जानकारी दिएका छन्।
अधिकृत रावलका अनुसार कठोर चिसोका कारण अधिकांश स्थानीयहरू बेसीतिर अस्थायी बसाइँ सरेका छन्। गाउँमा मानिस नभएकाले स्वास्थ्यकर्मीहरूलाई चौरी राखिएका स्थानसम्म पुग्न गाह्रो भएको छ। मङ्गलवारबाट सुरु भएको हिमपातले समस्या झनै जटिल बनाएको छ।
शनिवारसम्मको तथ्याङ्क अनुसार ६० भन्दा बढी चौरी तथा याकहरू मरेका थिए। तर, स्वास्थ्यकर्मी टोलीको अनुमानअनुसार हालसम्म १०० भन्दा बढी चौरी तथा याकहरू अज्ञात रोगबाट ग्रसित भई मरेको हुनसक्छ।
उच्च हिमाली क्षेत्र, दुर्गम भूगोल, र सीमित स्रोतसाधनका कारण मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयहरूले दूध, छुर्पी उत्पादन तथा भारी बोक्नका लागि चौरी र याक पालन गर्ने गर्छन्। चौँरीहरूको मृत्युले स्थानीयको जीविकोपार्जनमा ठूलो असर पारेको छ।
रोगको पहिचान र नियन्त्रणका लागि थप अनुसन्धान तथा सहयोग आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत रावलले बताएका छन्। हिमाली क्षेत्रको दुरावस्थाले यस्ता प्रकोपलाई रोक्न दीर्घकालीन रणनीतिहरू विकास गर्न जरुरी देखिएको छ।








प्रतिक्रिया राख्नुहोस्