दलित समुदायको इतिहास झल्काउने ‘लुहारे कोट’
कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारे कोट विकसित हुँदै गएको छ । स्थानीय सरकारले लुहार कोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएसँगै लुहार कोटको महत्व बढ्दै गएको हो ।

कालीकोटको खाडाँचक्र नगरपालिका–१ को मान्म सदरमुकाम बजारमा अवस्थित छ, लुहारे कोट । लुहारे कोट क्षेत्रलाई ऐतिहासिक दलित समुदायको वीरता र साहसको प्रतीकका रूपमा लिने गरिएको छ ।
सदरमुकामको सिरानीमा निर्माण गरिएको प्रतिमासहितको संरचनाले स्थानीय इतिहास र संस्कृतिको संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका खेलेको सामाजिक अभियन्ता बाले विश्वकर्माले बताउनुभयो । “लुहार समुदायका अनुसार यस स्थलको वास्तविक नाम ‘लुहारे कोट’ हो । यसको ऐतिहासिक पहिचानलाई सम्मानपूर्वक संरक्षण गरिनुपर्छ”, उहाँले भन्नुभयो ।
स्थानीयको मौखिक इतिहास, वंशावली र जनविश्वासका आधारमा लुहार कोटले खाँडाचक्र क्षेत्रको इतिहासमा महत्त्वपूर्ण स्थान ओगटेको ठाउँ भएको खाँडाचक्र नगरपालिका–२ स्थित पञ्चदेव माध्यमिक विद्यालयका शिक्षक लक्षिराम विश्वकर्माले बताउनुभयो ।
यस स्थानको इतिहास लुहार समुदायका प्रथम पुर्खा मानिने शान्ति लुवारसँग जोडिएको र स्थानीय विश्वासअनुसार शान्ति लुवार नै लुहार कोटका संस्थापक तथा यस क्षेत्रका प्रारम्भिक शासक भएको लक्षिरामले जानकारी दिनुभयो ।
हाल जिल्ला अदालत तथा जिल्ला समन्वय समितिको कार्यालय रहेको क्षेत्र वरिपरि लुहारहरूको पुरानो बस्ती रहेको मानिन्छ । उक्त बस्तीभन्दा माथि रहेको विशाल तथा अग्लो ढुङ्गालाई नै ‘लुहारे कोट’ भनिएको हो ।
स्थानीयको भनाइअनुसार यही ढुङ्गामा बसेर राज्य सञ्चालन, न्यायिक फैसला, प्रशासनिक बैठक तथा जनसरोकारका विषयमा छलफल हुने गर्दथ्यो । यसैकारण उक्त स्थानलाई तत्कालीन शासन केन्द्रका रूपमा लिइन्छ । हाल कालीकोटको खाडाँचक्र नगरपालिकाले लुहार कोटको इतिहासको झल्को दिने गरी वीरताको प्रतीकसहित प्रतिमाको निर्माण गरेको नगर उपप्रमुख गणेशबहादुर शाहीले बताउनुभयो ।
रासस







प्रतिक्रिया राख्नुहोस्