चङ्खेली गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

हुम्ला । चङ्खेली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। आइतबार गाउँपालिका केन्द्र पिप्लाङस्थित रामशाह आधारभूत विद्यालयको सभाहलमा आयोजित एक समारोहका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
कार्यक्रममा स्वास्थ्य शाखा संयोजक शाहीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाभित्र रहेका ६ वटा स्वास्थ्य संस्थामार्फत नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकामा जन्मदेखि १५ महिनासम्मका ९९ जना, १६ देखि २३ महिनासम्मका ८८ जना तथा २४ देखि ५९ महिनासम्मका २५४ जना बालबालिका रहेका छन्। १६ देखि २३ महिनासम्मका शतप्रतिशत अर्थात् ८८ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसारका सम्पूर्ण खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गाउँपालिकाको स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले बालबालिकाको जीवन रक्षा तथा स्वस्थ भविष्य निर्माणका लागि खोप सबैभन्दा प्रभावकारी र भरपर्दो माध्यम भएको उल्लेख गर्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने गरी गाउँपालिकाले आवश्यक स्रोत र साधन व्यवस्थापन गर्दै आएको बताउनुभयो। प्राप्त उपलब्धिलाई दिगो बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकको निरन्तर सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा नं। १ देखि ६ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा संयोजक सुरवीर शाहीले गर्नुभएको थियो।
विशेष अतिथि तथा गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले पूर्ण खोप सुनिश्चितता घोषणा स्वास्थ्य क्षेत्रको मात्र नभई समग्र गाउँपालिकाको साझा उपलब्धि भएको बताउनुभयो। उहाँले दुर्गम बस्तीहरूमा समेत खोप सेवा पुर्याउन खटिएका स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो।
वडा नं. ४ का वडाध्यक्ष पदम बहादुर शाहीले भौगोलिक विकटता र विभिन्न चुनौतीका बाबजुद गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गर्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले खोप कार्यक्रमलाई सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र अभिभावकहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै भविष्यमा पनि नियमित खोप सेवाको पहुँच प्रत्येक बालबालिकासम्म पुर्याउन सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागीहरूले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाले बालबालिकाको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। साथै, आगामी दिनमा पनि नियमित अनुगमन, अभिलेखीकरण तथा जनचेतनामूलक कार्यक्रममार्फत पूर्ण खोपको अवस्थालाई दिगो बनाइराख्नुपर्नेमा जोड दिइएको थियो।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बालबालिकालाई विभिन्न सरुवा तथा प्राणघातक रोगहरूबाट सुरक्षित राख्न प्रदान गरिने खोप सेवाको प्रभावकारी कार्यान्वयनपछि चङ्खेली गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिकाको मान्यता प्राप्त गरेको हो।








प्रतिक्रिया राख्नुहोस्