शहर केन्द्रित भएकाहरू अब गाउँ फर्कन जरुरी : मुख्यमन्त्री आचार्य
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकास गाउँ केन्द्रित भइरहँदा मानिसहरू शहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताउनुभएको छ ।
मालारानी गाउँपालिका–२ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण जयन्ती महोत्सवको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधाहरू पुर्याइरहेको सन्दर्भ उल्लेख गर्नुहुँदै शहर केन्द्रित भएकाहरू अब गाउँ फर्कन जरुरी रहेको बताउनुभयो । उहाँले सुविधाकै लागि शहर पसेकाहरू अब गाउँ फर्कनुपर्ने बताउनुभयो।
“हामीले गाउँमा विकास पुर्यायौँ । सुविधा पुर्यायौँ । अहिले त्यही सुविधाका लागि शहर पसेकाहरू गाउँ फर्कन जरुरी छ”, उहाँले भन्नुभयो, “अब राम्रो स्कुलमा पढाउनकै लागि शहर पस्नुपर्ने, घरमा ताला झुण्ड्याउनुपर्ने अवस्था छैन । यही गाउँमा पनि धेरै गर्न सकिन्छ । अब गाउँ फर्किएर उद्यम गर्न जरुरी छ ।”
उहाँले ‘गाउँ फर्क’ अभियानलाई राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाहरूले उदाहरण बनेर देखाउनुपर्ने बताउनुभयो । “राजनीतिक दलका कार्यकर्ता पनि अब उद्यममा जोडिएर व्यवसायीक बन्नुपर्छ । विदेशमा जतिको कमाई स्वदेशमा बसेर पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अब राजनीतिक दलका कार्यकर्ताहरू उत्पादनसँग जोडिनै पर्छ । आफैले उदाहरण पेश नगर्दासम्म समाजको विश्वास जित्न सकिँदैन ।”
उहाँले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री आचार्यले गुणस्तर सुधार गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो । “रिजल्ट सुधार्न एउटा पक्षले मात्रै ख्याल गरेर हुँदैन । यसमा अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय, जनप्रतिनिधि सबै साझा रुपमा अघि बढ्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “गत वर्षको एसइईको नजिता सन्तोषजनक भएन । यसपालिको नजिता सुधार गर्ने बारेमा सबै चिन्तित र संवेदनशील बन्नै पर्छ ।”
प्रतिक्रिया राख्नुहोस्