तारा एयरलाइन्सले सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान थाल्यो
मुगु । लामो समयपछि तारा एयरलाइन्सले सुर्खेतबाट कर्णालीका तीन हिमाली जिल्लाहरू हुम्ला, मुगु र जुम्लामा बुधबारदेखि उडान सुरु गरेको छ। यससँगै सुर्खेतमा बसोबास गर्दै आएका साविक कर्णाली क्षेत्रका स्थानीय बासिन्दा र अध्ययनरत विद्यार्थीहरू विशेष रूपमा लाभान्वित भएका छन्।
हिमाली टुर्स एण्ड ट्राभल्सको व्यवस्थापनमा हप्ताको दुई दिन—बुधबार र शनिबार—सुर्खेतबाट सिमिकोट, जुम्ला र रारा विमानस्थलमा नियमित उडान हुने तारा एयरलाइन्स नेपालगन्जका स्टेशन इन्चार्ज सूर्य मणि सुवेदीले जानकारी दिनुभयो। सुवेदीका अनुसार सुर्खेतदेखि सिमिकोटसम्मको भाडा ८ हजार, रारासम्म ६ हजार ५ सय र जुम्लासम्म ६ हजार ५ सय रुपैयाँ तोकिएको छ।
पहिले सुर्खेतबाट हवाई यात्रा गर्न नेपालगन्ज जानुपर्ने बाध्यता हटेपछि मुगु, हुम्ला र जुम्लाका यात्रुहरूले एक हजार रुपैयाँ जोगिनुका साथै समय पनि बचत भएको बताइएको छ। सुर्खेतबाट रारा विमानस्थल पुग्नुभएका कृष्णाराज भामले यो उडानले सुर्खेतमा बसोबास गर्ने स्थानीयहरूलाई निकै राहत पुगेको बताउनु भयो ।
मुगुस्थित विद्युत् प्राधिकरणका प्रमुख सर्जनबहादुर ऐडीले सरकारी कर्मचारीहरूका लागि पनि सुर्खेतमै उडान हुने सुविधा उपलब्ध भएपछि कार्यालयको कामकाज सहज भएको उल्लेख गर्नु भयो ।
तारा एयरलाइन्ससँगको सम्झौताअनुसार यात्रुको चापअनुसार थप उडान गरिने योजना छ। यसले काँक्रेबिहार, रारा, कैलाश मानसरोवर, सेफोक्सुण्डो र चन्द्रनाथजस्ता पर्यटकीय क्षेत्रलाई जोड्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मिनबहादुर रावलले जानकारी दिनु भयो ।







प्रतिक्रिया राख्नुहोस्