मन्त्री शाही पहिलो पटक जन्मस्थान पुग्दा स्थानीयद्वारा भव्य स्वागत
मुगु । नेपाल सरकारका बन तथा वातावरण मन्त्री ऐनबहादुर शाही पहिलो पटक आफ्नो जन्मस्थान सौरु पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन्।
परम्परागत बाजागाजाका साथै, फूलमाला र लिएर ठूलो सङ्ख्यामा उपस्थित भएका स्थानीयले मन्त्री शाहीलाई स्वागत गरेका हुन् । मन्त्री शाहीको आगमनसँगै सौरु गाउँको माहोल उल्लासमय बनेको थियो ।
मन्त्री शाहीले सम्बोधनमा भन्नुभयो, “म आफ्नो जन्मभूमिमा आएर निकै भावुक छु। यहाँको विकास, वन संरक्षण र वातावरणीय सन्तुलनका साथै जलवायु परिवर्तनले पारेको प्रभाव र असर न्यूनीकरणको लागि आवश्यक योजनाहरू अघि बढाइनेछ।”
कार्यक्रमका क्रममा स्थानीयले सडक, खानेपानी, शिक्षा र बन तथा स्वास्थ्यका क्षेत्रमा देखिएका समस्याहरू उठाएका थिए। मन्त्री शाहीले सम्भव भए सम्मका समस्याहरूलाई सम्बोधन गर्न छिट्टै योजना अघि सारिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सौरुका कृषक र युवा उद्यमीले आफ्नो क्षेत्रको विकासका लागि मन्त्रीसँग सहकार्यको अपेक्षा व्यक्त गरेका छन्। यस अवसरमा स्थानीय विद्यालयका विद्यार्थीहरू, महिला समूह र विभिन्न संघसंस्थाहरूले समेत मन्त्रीको स्वागत कार्यक्रममा सहभागिता जनाएका थिए ।
मन्त्री शाहीको आगमनले सौरु गाउँको विकास र समृद्धिका लागि नयाँ आशा जागेको स्थानीयहरूको प्रतिक्रिया बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्