उपनिर्वाचन अपडेट : ३२ जिल्लामा शान्तिपूर्ण निर्वाचन जारी
कीर्तिपुरमा अहिलेसम्म ३० प्रतिशत मत खस्यो
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत ३२ जिल्लाका रिक्त विभिन्न ४१ पदका लागि आज बिहानैदेखि मतदान जारी छ ।
उपनिर्वाचन अन्तर्गत नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।

काठमाडौँ कीर्तिपुर नगरपालिकामा नगरप्रमुख र दुई वडाध्यक्षका लागि मतदान जारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुरका अनुसार अहिलेसम्म ३० प्रतिशत मत खसेको छ ।
जाजरकोटको नलगाड उपमहानगरपालिकामा उपप्रमुख पदका लागि भइरहेको मतदानमा हालसम्म ५ हजार ३ सय २४ मत खसेको छ भने कुसे गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदका लागि भइरहेको मतदानमा ५ सय ९२ मत खसेको छ ।

गुल्मीको मुसिकोट नगरपालिका १ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा अहिलेसम्म ११ सय ६० मत खसेको छ । तिनवटै मतदान स्थलका मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान भइरहेको छ । वडा नं १ मा चार हजार ९१ मतदाता रहेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदको उपनिर्वाचनमा १ हजार ८०० ले मतदान गरेका छन् । उक्त वडामा ५ हजार ४ सय ३४ मतदाता रहेका छन् ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भइरहेको मतदानमा २ हजार मत खसेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताउनुभयो । मतदान पक्रिया शान्तिपूर्ण तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामिकार्तिकले जनाएको छ ।
स्वामिकार्तिक खापर गाउँपालिकामा जम्मा मतदाता सङ्ख्या ७ हजार ४ सय ५८ रहेको छ ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ मा वडा अध्यक्ष पदकालागि जारी निर्वाचनमा हालसम्म २ हजार ५ सय मत खसेको छ । उक्त वडामा ८ हजार ५३ मतदाता रहेको हाम्रा संवाददाताले जनाएका छन् ।

गोरखा नगरपालिका वडा नम्बर ५ मा जारी उपनिर्वाचनमा अहिलेसम्म २० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटले जानकारी दिनुभयो ।
दुई वटा मतदान स्थलमा तीनवटा केन्द्र रहेका छन् । जसमा कुल दुई हजार २ सय २५ मतदाता रहेको र शान्तिपूर्ण रुपमा मतदान भइरहेको गोरखास्थित हाम्रा संवाददाताले जनाएका छन् ।
उदयपुर जिल्लाको बेलका नगरपालिका ९ नम्बर वडाका मा ६ सय मत खसेको छ भने त्रियुगा नगरपालिकामा वडा नम्बर १२ मा ११ सय मत खसेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

यस्तै बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा अहिलेसम्म ७ सय १२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी उपनिर्वाचन भइरहेका अन्य विभिन्न स्थानीय तहमा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको र मतदान स्थलमा आवश्यक मात्रमा सुरक्षा कर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।
संवाददताहरु
राजेन्द्र वि.क– बाजुरा
राजेन्द्र न्यौपाने – गोरखा
पवन खनाल– जाजरकोट
सत्यराज सिंह– बझाङ
अञ्जनी कुमार – उदयपुर
कृष्ण साउद – कञ्चनपुर
सूर्य सुनार – गुल्मी
प्रतीक्षा न्यौपाने – हेटौडा







प्रतिक्रिया राख्नुहोस्