परराष्ट्रमन्त्री डा. राणा चीन प्रस्थान
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन प्रस्थान गर्नुभएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उहाँ आज मध्याह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
डा. राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा जानुभएको हो ।
परराष्ट्र मन्त्री डा. राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राइ र मन्त्रालयका अधिकारीहरुले बिदाइ गर्नुभएको थियो ।
चीन भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुनेछ ।
चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरुप उहाँ चीन जानुभएको हो । प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।
परराष्ट्रमन्त्री डा. राणा यही मङ्सिर १५ गते शनिबार नेपाल फर्कनुहुनेछ
प्रतिक्रिया राख्नुहोस्