सत्र क्विन्टल भन्दा बढी गाँजासहित एक जना पक्राउ
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका-४ बाट प्रहरीले सोमबार राति १७ क्विन्टल भन्दा बढी लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । बालुवा र गिटी लोड भएको ट्रकबाट १७ क्विन्टल गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयले मङ्गलवार बिहान पत्रकार सम्मेलन गरी गाँजासहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धनकुटाको शहीदभूमी गाउँपालिका ३ बस्ने यमजित राई रहेका छन् । ३५ बर्षीय उनले को १ ख ६५०३ नम्बरको टिपरमा गाँजा राखेर भारततर्फ गइरहँदा राजगढ गाउँपालिका ४ स्थित बेल्ही चपेनाबाट उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
सप्तरीको राजगढ गाउँपालिका-४ बाट उक्त क्षेत्रमा बालुवा गिटी भण्डारण गरी राख्ने र भारततर्फ चोरी तस्करी हुने गरेको सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्रकमा बालुवा लोड गर्दा तल गाँजा राखेर भारततर्फ लग्ने योजना अनुरूप जाँदै गर्दा गोप्य सूचनाका आधारमा प्रहरीले चेक गर्दा १७ क्विन्टल गाँजा फेला परेको प्रहरीले बताए ।
पहाडी जिल्लाबाट लागूऔषध गाँजा सप्तरी ल्याएर भण्डारण गर्ने र यहाँ वाट कोसी नदी हुँदै डुङ्गामा वा बालुवा गिटीमा लुकाएर भारत तर्फ तस्करी हुने गरेको थियो । यस विषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्