बागमती प्रदेशमा नयाँ मन्त्रालय थप
मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएर १४ पुर्याएको छ। मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालय थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभएको छ ।
बैठकले नयाँ मन्त्रालय थपसँगै मन्त्रिपरिषद्को कार्य विभाजन पनि स्वीकृत गरेको छ। तर नयाँ थपिएको मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन। प्रवक्ता लामिछानेका अनुसार मुख्यमन्त्री बहादुर सिंह लामाले स्वीकृत कार्य विभाजन अनुसार मन्त्रालयको जिम्मेवारी तोक्नुहुनेछ ।
नयाँ मन्त्रालयको जिम्मेवारी विगत १११ दिनदेखि विना विभागीय मन्त्रीका रूपमा रहेका मधुकुमार श्रेष्ठलाई दिइने तयारी छ। गत साउन ९ गते सरकार गठन भए यता श्रेष्ठले कुनै विभागीय जिम्मेवारी पाउनु भएको थिएन।
हाल बागमती प्रदेश सरकारमा मुख्यमन्त्री लामासहित नेपाली कांग्रेसका ८ जना र नेकपा एमालेका ६ जना मन्त्री रहेका छन्।
प्रतिक्रिया राख्नुहोस्