देउसी भैलो बाट सङ्कलित रकमले शिक्षकलाई तलब
बाजुरा । बाजुराको एक सामुदायिक विद्यालयमा देउसी/भैलोबाट सङ्कलित रकमले शिक्षकलाई तलबको व्यवस्था गरिएको छ । जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेको पञ्चलक्ष्मी आधारभूत विद्यालयले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम सोही विद्यालयमा निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलबको व्यवस्था गरेको छ ।
उक्त विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिले यस बर्ष देउसीभैलो खेलेर सङ्कलन गरेको एक लाख रुपैयाँ विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरूका लागि तलबको व्यवस्था गरिने जनाएको छ ।
विद्यालयले यस अघि पनि निजी शिक्षकहरूलाई विद्यालयको आन्तरिक स्रोतबाट तलव खुवाउँदै आएको थियो ।
यस विषयमा बुढीनन्दा नगरपालिकाका नगर उपप्रमुख राम बहादुर बोहराले कार्यपालिकाको बैठकको निर्णय बमोजिम विभिन्न विषयका शिक्षक पदपूर्तिका लागि ३७ कोटामा नगर स्वयंसेवक शिक्षकका लागि विज्ञापन गरिएकाले अबको केही समय भित्रै उक्त विद्यालयले सोही विज्ञापन अनुसार स्वयंसेवक शिक्षक पाउने बताउनु भएको छ।
प्रतिक्रिया राख्नुहोस्