चैनखोला पुल शुक्रवारबाट सञ्चालनमा
मुगु । ऐतिहासिक छायाँनाथ धाम पुग्नका लागि चैना खोलामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुल शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामका अनुसार, मन्दिरका भक्तजनलाई आवतजावतमा सहुलियत दिने तथा गमगढी बजारमा तरकारी बिक्री गर्ने भामवाडा गाउँ, छत्यालवाडा, ढुम र चैनागाउँका स्थानीय कृषकलाई समेत सहयोग पुर्याउने उद्देश्यले यो पुल निर्माण गरिएको हो।

विशेष गरी बर्खाको समयमा चैनाखोलामा आवतजावतमा पर्ने कठिनाइलाई मध्यनजर गर्दै यो पुल निर्माण गरिएको हो । शुक्रबार प्रमुख अतिथि पूर्व कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीत बहादुर मल्लले करिब १४७ मिटर लामो पैदल मार्गको उद्घाटन गरेपछि पुल सञ्चालनमा आएको हो।

उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्की, प्रमुख जिल्ला अधिकारी, कमल प्रसाद पाण्डे सुरक्षाकर्मी, विभिन्न राजनीतिक दलका नेता,पत्रकार लगायत स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अब यो पुल सञ्चालनमा आएसँगै छायाँनाथ मन्दिर दर्शन गर्ने भक्तजन, तरकारी व्यवसायी, स्थानीय बासिन्दा, र विद्यार्थीहरूलाई सुरक्षित र सहज यात्राको सुविधा मिलेको छ, जसले स्थानीय विकास र धार्मिक पर्यटनमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।








प्रतिक्रिया राख्नुहोस्