तिहार सुरु भएसँगै नेपालगञ्ज बजारमा किनमेल गर्नेको घुइँचो

नेपालगञ्ज । तिहार सुरु भएसँगै नेपालगञ्ज बजारमा किनमेल गर्नेको घुइँचो बढेको छ ।
तिहार पर्व विधिवत् रूपमा सुरु भएसँगै नेपालगञ्जको त्रिभुवनचोक, सदरलाइन, त्रिवेणीमोड, एकलैनी, धम्बोझी, घरबारीटोल लगायत क्षेत्रमा ग्राहकको घुइँचो बढेको हो ।

बजारमा अत्यावश्यक वस्तु, लत्ताकपडा, सुनचाँदी, तामा, भाँडाकुँडा, पूजा सामग्री, भाइमसला लगायत सामग्री किनमेल गर्नेको घुँइचो छ ।
लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल बढेसँगै व्यापारीहरूलाई भ्याइनभ्याई छ । पुस्तौँदेखि त्रिभुवन चोकमा तिहार बजार लगाएर तिहारका सामग्री विक्री वितरण गर्ने प्रचलन छ । त्रिभुवन चोक तिहार बजारले छपक्कै छोपिएको छ । सडकको बीच भागमै बजार लगाएर सामान किनमेल हुन्छ । व्यापारीहरू यो समयमा सामान्य समय भन्दा चार पाँच गुणा धेरै व्यापार भइरहेको बताउँछन् ।

तिहारका लागि आवश्यक सामग्री किनमेल गर्न बजार पुगेका ग्राहकले भने महँगी उच्च भएको गुनासो गरेका छन् । अत्यधिक मूल्यवृद्धि हुँदा पनि सरकारले बजार अनुगमन प्रभावकारी रूपमा गर्न नसकेको उनीहरूको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्