बाँकेमा सीमावर्ती क्षेत्रका किसानलाई दूध बेच्नै सकस
नेपालगञ्ज । खुला सीमाका कारण बाँकेमा दूध उत्पादक किसान मारमा परेका छन् ।
भारतबाट निर्वाधरुपमा दूध आउँदा बाँकेमा दूध उत्पादक किसान मर्कामा परेका हुन् । यसले गर्दा एकातिर नेपाली किसानले उचित मूल्य पाएका छैनन् भने अर्कोतर्फ नेपाली उपभोक्ताले गुणस्तर हीन दूध खरिद र सेवन गरिरहेका छन् ।
दैनिक भारतबाट आउने सस्तो मूल्यको सयौँ लिटर दूधका कारण बाँकेमा उत्पादित दूधले बजार पाउन मुस्किल भएको छ । आयातित दूधका कारण ऋण कर्जा गरेर कृषि फार्म सञ्चालन गरेका किसानहरू मर्कामा परेका छन् ।
दूध उत्पादक किसान धनीराम कोरी अस्वस्थ प्रतिस्पर्धाका कारण घाटा सहेर पनि आफूहरू सस्तो मूल्यमा दूध बिक्री गर्न बाध्य भएको बताउनुहुन्छ । आफूहरूले दूधको मूल्य नै पाउन नसकेको उहाँको भनाई छ ।
अर्का किसान धिरजराम यादव भारतबाट निर्वाधरुपमा दूध आउँदा आफूहरूको दूध बिक्री हुनै छाडेको दुःखेसो सुनाउनुहुन्छ । यादव भारतीयहरूले कमसल दूध सस्तोमा दिँदा आफूहरूले उत्पादन गरेको शुद्ध दूधले पनि बजार पाउने अवस्था नरहेको बताउनुहुन्छ ।
भारतीय किसानहरू आफैँ दूध बेच्न नेपाल आउने गर्दछन् । उनीहरूले यहाँ प्रतिलिटर ५० देखि ८० रुपैयाँसम्ममा दूध बेच्ने गरेका छन् । जानकारहरूका अनुसार भारतबाट आउने सस्तो मूल्यको दूध पाउडर तथा अन्य केमिकलबाट बनाइने भएकोले गुणस्तर हीन हुने गरेको छ । जसले मानव स्वास्थ्यमा असर गर्ने जोखिम उच्च छ ।
भारतबाट आउने दूधमा लेदो पर्ने, छोक्रा आउने, डल्ला पर्ने र चाँडो बिग्रिने गरेकोले बेला बेलामा दूध नष्ट गर्दै आएको पशु क्वारेन्टाइन चेकपोष्ट कार्यालय नेपालगञ्जले जनाएको छ । भारतबाट आउने गुणस्तर हीन दूध स्वास्थ्यका लागि हानिकारक देखिएको कार्यालय प्रमुख पशु स्वास्थ्य प्राविधिक विजयकुमार थारुले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्