दशै्ँ मनाउन नेपालगञ्ज नाकाबाट दैनिक तीन हजार नेपाली घर फर्किँदै

नेपालगञ्ज । दशैं नजिकिएसँगै भारतका विभिन्न सहरमा कामका लागि गएका नेपालीहरू फर्किन थालेका छन् । कामका लागि भारत गएकाहरू समूह-समूहमा नेपाल फर्किरहेका छन् ।
असोज लागे यता दैनिक करिब ३ हजार नेपाली घर फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । सोह्र श्राद्ध पनि सुरु भएकाले श्राद्ध गर्ने गरी फर्किनेहरू पनि बढिरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
दाङको बबई गाउँपालिका वडा नम्बर ३ का हरिभक्त डाँगीले सोह्र श्राद्ध गर्ने गरी दशैं मनाउन घर फर्किरहेको बताउनुभयो । गत वर्षको दशैं तिहार भारतको चण्डी गढमा मनाउनुभएका डाँगीले यस बर्ष आफ्नै थातथलोमा पर्व मनाउन स्वदेश फर्किएको बताउनुभयो । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ का सागर थापा पनि दशैं तिहार मनाउन भारतको सिम्लाबाट घर फर्किनुभएको छ । ‘दशैं नजिकिएपछि घर फर्किन मन लागिहाल्यो,’ थापाले भन्नुभयो । परिवारसहित मजदुरीका लागि भारत गएकाहरू बालबच्चासहित फर्किरहेका भेटिन्छन् ।

दशैं तिहार मनाउन घर फर्किरहेका नेपालीको सुरक्षा र सहजताका लागि नाकामा उचित प्रबन्ध मिलाएको इलाका प्रहरी कार्यालय जमुनाहामा इन्चार्ज प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो । यो बेला नेपालीहरू लुटिने, ठगिने र अप्ठेरोमा पर्ने जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको उहाँको भनाई छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका नेपालीहरू मौसमी रोजगारीका लागि ठूलो सङ्ख्यामा भारत जाने गर्दछन् । दशैं तिहार र खेतीपातीका बेला उनीहरू स्वदेश फर्कने गर्दछन् ।







प्रतिक्रिया राख्नुहोस्